Monday, October 21, 2024

हुस्सुले हवाई उडान ठप्प

४ असार, सोलुखुम्बु
प्रतिकूल मौसमले लुक्लास्थित तेन्जिङ हिलरी विमानस्थलमा उडान ठप्प हुँदा पर्यटक समस्यामा परेका छन् । गत जेठ २६ गतेदेखि विमानस्थलमा कुनै पनि जहाजले उडान भर्न सकेको छैन ।

अत्यधिक हुस्सु र ‘भिजिबिलिटी’ कम हुँदा लुक्लामा जहाज र हेलिकोप्टरले उडान भर्न नसकेको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाका एअर ट्राफिक कन्ट्रोलर दिवस दाहालले बताए ।

‘अहिले सगरमाथा क्षेत्र भ्रमणमा आएका विदेशी तथा स्वदेशी पर्यटक फर्कने सिजन हो। यति खेर आउनेभन्दा फर्किने पर्यटक ज्यादा हुन्छन्, तर मौसम अनुकूल छैन,’ उनले भने, ‘त्यसैले सबै उडान तालिका १० दिनदेखि रद्द भइरहेको छ, हुस्सुले वरको वस्तु परबाट देखिन्न, झन् जहाज उडान हुने त कुरै छैन ।’

लुक्ला विमानस्थलमा अवतरण हुन नसक्दा लुक्लाभन्दा तल रहेको सुर्के हेलिप्याडबाट हेलिकोप्टरले उडान गरिरहेका छन् । सुर्के केही होचो स्थान भएकाले हेलिकोप्टरले पर्यटक काठमाडौं लैजाने गरेको दाहालले बताए । भौगोलिक बनावटका कारण पनि लुक्लामा बढी हुस्सु लाग्ने भएकाले उडानमा समस्या हुने गरेको उनको भनाइ छ ।

मौसम सामान्य बदली हुने बित्तिकै लुक्लामा उडान ठप्प हुने भएकाले पर्यटक मर्कामा पर्ने गरेको तारा एअरका लुक्ला स्टेशन प्रमुख अमृत मगरले बताए । यति वेला लुक्ला भित्रिनेको तुलनामा बाहिरिने बढी छन् । यद्यपि मौसमका कारण सबै उडान तालिका रद्द गर्नुपरेको मगरको भनाइ छ ।

लुक्लाभन्दा तल करिब ४ घण्टाको पैदल दूरीमा पर्ने थामडाँडासम्म गाडी पुग्छ । यसका कारण कतिपय पर्यटक ३ देखि ४ घण्टा पैदल हिंडेर थामडाँडाबाट गाडी मार्फत सदरमुकाम सल्लेरीहुँदै काठमाडौं फर्किरहेका छन् । थामडाँडाबाट सल्लेरीको दूरी करिब ७० किलोमिटर छ । कच्ची सडक भएकाले त्यहाँ बोलेरो मात्रै चल्ने गरेको छ ।

थामडाँडाबाट सल्लेरीको गाडी भाडा प्रतिव्यक्ति २ हजार २ सय रूपैयाँ लिने गरेको यातायात व्यवसायी रामबहादुर विश्वकर्माले बताए । थामडाँडाबाट आएको दिन सल्लेरी वास बस्ने पर्यटक भोलिपल्ट विमान/बस मार्फत काठमाडौं फर्कने गरेका छन् । सल्लेरीबाट २ सय ७५ किलोमिटरको दूरीमा पर्ने काठमाडौं आउन २ हजार रुपैयाँ गाडी भाडा लाग्ने गरेको छ ।


–रासस

ताजा समाचार

सम्बन्धित समाचार