Sunday, September 8, 2024

मध्य अमेरिकामा भारी वर्षाले ठुलो क्षति

असार, काठमाडौं
मध्य अमेरिकामा भारी वर्षाले जनधनको ठुलो क्षति भएको छ । एल साल्भाडोर र ग्वाटेमालामा भारी वर्षासँगैको बाढी र पहिरोमा परेर करिब ३० जनाले ज्यान गुमाएका सरकारी अधिकारीहरूले जनाएका छन् ।

सोमबार (३ असारमा) एल साल्भाडोरमा ११ जनाले ज्यान गुमाएका छन् । ग्वाटेमालाको सीमा नजिकैको ताकुबामा माटोको ढिस्कोमा पुरिएर २ बालबालिका सहित ५ जनाको मृत्यु भएको त्यहाँको नागरिक सुरक्षा निकायले जनाएको छ ।

आइतबार एल साल्भाडारको पश्चिमी क्षेत्रमा आफ्नो गाडीको नियन्त्रण गुमाउँदा अन्य २ जनाको मृत्यु भएको थियो । भारी वर्षाबाट सबैभन्दा बढी प्रभावित पश्चिमी जिल्ला टाकुबामा सोमबार ५ जनाको मृत्यु भएको नागरिक रक्षा प्रमुख लुइस अमायाले बताएका छन् ।

यसअघि राजमार्गमा यात्रा गरिरहेको कारमा रूख र पोलहरू खस्दा आइतबार २ जनाको मृत्यु भएको थियो । शुक्रबार र आइतबारको बिचमा बाढी र पहिरोमा थप ४ जनाको मृत्यु भएको अमायाको भनाइ उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।

ग्वाटेमालाको प्यासिफिक तट र मेक्सिकोको खाडीमा रहेको न्यून चापीय क्षेत्रले यस क्षेत्रमा भारी वर्षा भइरहेको छ । बाढीको जोखिम बढ्दै गएपछि एल साल्भाडोरको सरकारले आइतबार (२ असारमा) आपतकालीन घोषणा गर्दै देशभर करिब १ सय आश्रयस्थल बनाएको छ ।

ग्वाटेमालामाको पश्चिमी नगरपालिका साकापुलासको चाकाया गाउँमा आइतबार ५९ वर्षीया महिला र ६८ वर्षीय पुरुषको मृत्यु भएको थियो । भत्किएको पर्खालले उनीहरूको निधन भएको अधिकारीहरूले जनाएका छन् ।

एजेन्सीहरूको सहयोगमा

ताजा समाचार

सम्बन्धित समाचार