Monday, October 21, 2024

वर्षाले दर्जनौं परिवार विस्थापित

२ असार, ताप्लेजुङ
निरन्तरको वर्षासँगै ताप्लेजुङका विभिन्न ठाउँमा गएको पहिरोले दर्जनौं परिवार विस्थापित भएका छन् ।

गत बुधबार (३० जेठ) यताको निरन्तर वर्षाका कारण गएको पहिरोले घरमा क्षति पु-याउँदा दर्जनौं परिवार विस्थापित भएका हुन् । शनिबार राति मिक्वाखोला गाउँपालिका–५ ताङखु गाउँमा ७ जना किसानको २३ रोपनी अलैँची बगान पहिरोले बगाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कमलकुमार लुङ्गेलीकाअनुसार शनिबारको पहिरोले मिक्वाखोला–५ पापुङमा ३ परिवार विस्थापित भएका छन् । ताप्लेजुङका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक रवि रावलकाअनुसार पापुङ, ताङ्खु टोलका आइतवीर लिम्बू, मनकुमार लिम्बू र मोहन लिम्बूको परिवार विस्थापित भएको छ ।

शनिबार विहान वर्षासँगै झरेको पहिरोले घरमा क्षति पु-याउँदा उनीहरूको परिवार विस्थापित भएको रावलले जानकारी दिए । त्यस्तै, सिरिजङ्घा गाउँपालिका–६ मामाङ्खेमा पहिरोले ६ परिवार विस्थापित भएका छन् । मामाङ्खे थत्रुवाका गोरीमाया लिम्बू, पूर्णकुमार माबो र भीममाया गुरुङको परिवारले विस्थापित हुनुपरेको छ । मामाङ्खेकै थबाबुकका ख्यालमान लिम्बू र वीरबहादुर लिम्बू, आगेगाउँका चन्द्रबहादुर लिम्बूको परिवार विस्थापित भएको जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार शनिबार वर्षासँगैको पहिरोले सिरिजङ्घा–७ मा नवराज लिम्बूको घर, भान्सा घर र पशुचौपायासहित १६ लाख ९० हजार रूपैयाँ हाराहारीको क्षति भएको छ । त्यस्तै, शुक्रराज लिम्बूको घर पूर्णरुपमा क्षति र पशुचौपायासहित १० लाख ८० हजार रूपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

सिरिजङ्घा–८ याम्फुदिनको साम्मेधुङ टोलका पदम माबो, कीर्तिमान लिम्बू, राजबहादुर लिम्बू र छिरिङ भोटेको परिवार विस्थापित भएको प्रहरीले जनाएको छ । पहिरोले खानेपानीमा क्षति पु-याउँदा मामाङ्खेका करिब ३ सय परिवार खानेपानीबाट वञ्चित हुनु परेको पनि स्थानीयले जानकारी दिएका छन् ।

यसैगरी, याम्फदिनमा पनि दर्जनभन्दा बढी परिवार बाढीपहिरोको उच्च जोखिममा रहेका स्थानीय जनप्रतिनिधि सन्तोष राईले जानकारी दिए । गत बुधबारयता ताप्लेजुङमा पहिरोमा परी ५ जनाको मृत्यु भएको छ । त्यस्तै, ५५ पशु चौपाया मरेका छन् ।

मनसुन पूर्णरूपमा सक्रिय नहुँदै बाढीपहिरोले मानवीयसहित पशुचौपाया, खेतीबाली, सडक, पुल, खानेपानीलगायत संरचनामा क्षति गर्न थालेकाले जिल्लावासी त्रसित बनेका छन् । ताप्लेजुङको भू–बनोट पहिरोको जोखिम पर्ने जिल्ला विपत् व्यवस्थापन समितिले जनाएको छ । समितिका अनुसार यहाँका ६१ मध्ये ४१ वडा पहिरोको उच्च जोखिममा पर्छन् ।

रासस

ताजा समाचार

सम्बन्धित समाचार