Monday, October 21, 2024

तराईमा फेरि तातो हावाको प्रक्षेपण

२७ जेठ, काठमाडौं
आगामी केही दिन मध्य र पश्चिम तराईमा अत्यधिक गर्मीको बढ्ने भएको छ । जल तथा मौसम विज्ञान विभागले यी भेगहरूमा तातो हावा र तातो लहर (लु)को प्रक्षेपण गरेको छ ।

आवश्यक सतर्कता अपनाउन विभागको मौसम पूर्वानुमान महशाखाले अपिल गरेको छ । ‘तराईका भूभागमा जेठ २८ गतेसम्म तातो हावासँगै तातो लहरको सम्भावना रहेकाले त्यसको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ’, महाशाखाले विशेष बुलेटिन जारी गर्दै भनेको छ ।

महाशाखाका मौसमविद्हरूका अनुसार तुलनात्मक रूपमा लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराईका भू–भागमा गर्मी ४० डिग्री हाराहारी र सो भन्दा माथि पुग्ने छ ।

‘मनसुन भित्रिने अनुकूल वातावरण बन्दै गर्दा कोशी प्रदेशमा त्यति धेरै गर्मी छैन । मधेश प्रदेश, चितवन र नवलपरासीदेखि पश्चिम तर्फ गर्मी बढिरहेको छ, वर्षा नभएसम्म तत्काल गर्मी घट्ने सम्भावना छैन’, महाशाखाकी मौसमविद्ले शान्ति कँडेलले भनिन् ।

उनकाअनुसार केही केही दिन मध्य र पश्चिम तराईमा तातो हावाको प्रभावमा उतारचढाव आइरहन्छ । मनसुन सक्रिय नबनेसम्म यी भेगहरूको तापक्रम तत्काल खस्किने मौसमी प्रणाली नेपाली भू–भाग आसपासमा छैन । केही दिनयता नेपालगञ्ज, धनगढी र लुम्बिनी प्रदेशका तराईका भू–भागको तापक्रम दैनिकजसो ४० डिग्री माथि मापन हुँदै आएको छ ।

विभागले यो वर्ष पटक–पटक तातो हावा र तातो लहरको प्रक्षेषण गर्दै विशेष बुलेटिन जारी गरेको छ । १० र १५ वैशाखमा तातो लहरको सूचना जारी गरेको विभागले यो महिनामा ३ पटक यस्तो पक्षेषण गरेको हो । ३ जेठ, १८ जेठ र शनिबार (२६ जेठमा) यस्तो बुलेटिन जारी भएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार