Sunday, September 8, 2024

पानी मुहान संरक्षण गर्न १५ वटा पोखरी

२५ जेठ, खोटाङ
पानीका मुहान संरक्षण गर्न खोटाङका विभिन्न १५ सामुदायिक वनमा ‘रिचार्ज’ पोखरी निर्माण हुँदैछन् । जलवायु परिवर्तनका असरले मुहान सुक्न थालेपछि संरक्षण डिभिजन वन कार्यालयले सामुदायिक वनमा पोखरी निर्माण सुरु गरेको हो ।

हलेसी तुवाचुङ नगरपालिकाका ४, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र केपिलासगढी गाउँपालिकाका २–२ जन्तेढुङ्गा गाउँपालिकाका ३ तथा रावाबेँसी गाउँपालिका र ऐसेलुखर्क गाउँपालिकाका ३ वटा वनमा पोखरी निर्माणको थालिएको डिभिजन प्रमुख पशुपति दाहालले बताए । मुहानको शिरमा वर्षाको पानी जमाउने र जमिनलाई रिचार्ज गरेर मुहान सुक्नबाट जोगाउन रिचार्ज पोखरी उपयोगी हुने उनको भनाइ छ ।

‘वर्षाको पानीबाट हुने जमिन कटान रोकथाम गर्दै मुहान संरक्षण गर्न रिचार्ज पोखरी निर्माणको काम सुरु गरिएको हो’, उनले भने, ‘रिचार्ज पोखरी निर्माणका लागि जलाधारमा आधारित जलवायु उत्थानशील जीविकोपार्जन आयोजना (डिसीआरएल)ले सहकार्य गरेको छ । निर्माणाधीन रिचार्ज पोखरी आगामी असार मसान्तभित्र सम्पन्न हुन्छ ।’

जिल्लाका विभिन्न सामुदायिक वनमा निर्माण गरिने १५ वटा पोखरीमध्ये केही ठाउँमा निर्माण सम्पन्न भइसकेका छन् भने केही ठाउँमा धमाधम निर्माण भइरहेका छन् । जिल्लामा निर्माण गरिने पोखरीमध्ये ५ वटा डिभिजन वन कार्यालय तथा १० वटा डिसीआरएलको सहकार्यमा निर्माण हुनेछन् ।

वन कार्यालयले प्रतिपोखरी २ लाख ५० हजार रूपैयाँ तथा डिसीआरएलले निर्माण गर्ने पोखरीका लागि २ लाख ३५ हजार रूपैयाँ विनियोजन भएको छ । पोखरीले मुहान संरक्षण हुनुका साथै मुहानमा पानीको मात्रा बढ्नेमा आफूहरू विश्वस्त रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित डाँडाखर्क–खिसापत्रे सामुदायिक वन उपभोक्ता समिति अध्यक्ष हर्कराज राईले बताए ।

वन कार्यालयले यसअघि पनि जिल्लाका विभिन्न सामुदायिक वनमा पोखरी निर्माण गरेको थियो । पोखरी निर्माणले पर्यायवरण संरक्षणमा सहयोग पुग्ने सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय सदस्य राजेन्द्र राईले बताए ।

विरूवा वितरण
यसैबीच डिभिजन वन कार्यालय खोटाङले यस वर्ष विभिन्न प्रजातिका ८० हजार विरूवा गाउँलेलाई वितरण गर्ने तयारी गरेको छ । कार्यालयको हरियाली प्रवद्र्धन कार्यक्रमअन्तर्गत डालेघाँस, धुपी सल्ला, तेजपत्ता, जाकाराण्डालगायत विभिन्न प्रजातिका फलफूल तथा वनस्पतिका विरूवा उत्पादन गरेर वितरण हुन लागेको हो ।

हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित भाँडबेँसीमा ४० हजार खयरका विरूवा उत्पादन गरिएको छ । प्रतिगोटा १० रूपैयाँका दरले सामुदायिक वन उपभोक्ता समितिलाई भुक्तानी दिनेगरी खयरका विरूवा उत्पादन गर्न लगाइएको डिभिजन प्रमुख दाहालले जानकारी दिए ।

डिभिजन वन कार्यालय र सामुदायिक वन उपभोक्ता समितिले उत्पादन गरेका विरूवा यसै वर्ष वितरण गरिने जनाइएको छ । उत्पादित विरूवा सामुदायिक वन उपभोक्ता समितिलाई निःशुल्क उपलब्ध गराइने छ ।

रासस

ताजा समाचार

सम्बन्धित समाचार