Monday, October 21, 2024

मर्मत भएन मौसमी राडार

जेठ २५, सुर्खेत
मौसम पूर्वानुमानका लागि राखिएको सुर्खेतको मौसमी राडार बिग्रेको २ वर्ष हुँदा पनि हालसम्म मर्मतसम्भार हुन सकेको छैन । बजेट अभाव भएको भन्दै सम्बन्धित निकायले हालसम्म पनि मर्मतसम्भार गर्न सकेको छैन ।

वर्षायाममा हुन सक्ने विपतबाट बचाउन तत्कालको मौसम पूर्वानुमान गर्न सो मौसमी राडरको स्थापना गरिएको थियो । ७ वर्षअघि २०७६ साल मङ्सिर १७ गते सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१४ को रातानाङ्लामा मौसमी राडार सञ्चालनमा ल्याइएको थियो । चट्याङ परेर राडारका केही उपकरण बिग्रेका, जेनेरेटरमा पनि क्षति पुगेकाले २ वर्षदेखि बजेट अभावमा मर्मत हुन सकेको छैन ।

मर्मतका लागि जल तथा मौसम विज्ञान विभागले ४ पटकसम्म सूचना आह्वान गर्दा सेवा प्रवाह गर्ने कुनै पनि कम्पनीले रुचि नदेखाएको बताइएको छ । तर ५औँ पटकमा भने राडार मर्मतका लागि अमेरिकाको इइसी परामर्शदाताले मात्र रुचि देखाएपछि हाल लागत प्रस्ताव माग गरिएको छ । विभागका वरिष्ठ मौसमविद् तथा जलवायु प्रकोप समुत्थान निर्माण आयोजनाका प्रमुख निराजन सापकोटाका अनुसार सरकारले मर्मतका लागि न्यून बजेट दिएको भए पनि परामर्शदातासँग प्रस्ताव माग गर्न लागिएको छ ।

यस्तै स्थानीय स्तरमा गर्ने अन्य मर्मतको काम भने बल्ल सुरु भएको छ । २ वर्षअघि राडार बिग्रिए पनि मर्मतका लागि बजेट नभएपछि केही गर्न नसकिएको तर अहिले भने मर्मत गर्ने तयारी थालिएको उनले जानकारी दिए । विभागले आगामी भदौ अन्तिमसम्म राडर सञ्चालनमा ल्याउने ल्याउने सापकोटाको दाबी छ ।

विश्व बैंकले करिब १८ करोड रूपैयाँको आर्थिक सहयोगमा राडार स्थापना भएको हो । निर्माणको ५ वर्षसम्म राडार राम्रोसँग चलेको थियो । ५ वर्षभित्र बिग्रिएमा निर्माण कम्पनीले नै बेहोर्नुपर्ने प्रावधान रहेको थियो तर छैटौँ वर्षमा चट्याङ परेपछि राडार ठप्प भएको थियो । बजेटको अभाव, मर्मतका लागि दक्ष जनशक्ति नहुनु, सुर्खेतको विद्युत्को लो भोल्टेज, बेला बेलामा चट्याङ परिरहनु, इन्धन खर्च अभावलगायतका कारणले बिग्रेको राडार समयमै मर्मत गर्न नसकिएको विभागले जनाएको छ ।

गत वैशाख १८ गते विभागका निर्माण आयोजना प्रमुख सापकोटाको टोलीले सुर्खेत आएर मौसमी राडारको अध्ययन गरेको थियो । त्यसपछि अहिले चट्याङबाट सुरक्षित बनाउने सामान्य कामको थालनी भइरहेको जानकारी दिँदै उनले मर्मत कम्पनीले काम गरेमा आगामी भदौ अन्तिमसम्ममा सञ्चालनमा ल्याइने तयारी भइरहेको बताए ।

एक दिनको तत्काल मौसम पूर्वनुमानसहितको सूचना दिने यस्ता राडार नेपालमा ३ वटा मात्र छन् । सुर्खेतको राडारले प्युठानदेखि पश्चिम क्षेत्रको पूर्वानुमान गर्दछ । अरू २ वटा राडर पाल्पा र उदयपुरमा छन् ।

–गोरखापत्र दैनिक

ताजा समाचार

सम्बन्धित समाचार