Monday, October 21, 2024

दिवसमा सर्वोत्कृष्ट विद्यार्थी पुरस्कृत

२३ जेठ, ललितपुर
सदर चिडियाखानाले विभिन्न कार्यक्रमका साथ विश्व वातावरण दिवस मनाएको छ । यस अवसरमा वातावरण संरक्षण तथा सचेतनाका विभिन्न क्रियाकलापमा संलग्न विद्यार्थी/विद्यालयलाई पुरस्कृत गरिएको छ ।

‘हरित भविष्यको यात्रा’ शीर्षकको नाटकमा ललितपुरको सातदोबाटोस्थित ब्राइट फ्युचर विद्यालय पुरस्कृत भएको छ । नाटक प्रतियोगितामा काठमाडौं उपत्यकाका विभिन्न १८ वटा विद्यालयबिचको प्रतिस्पर्धामा सो विद्यालय सर्वोत्कृष्ट बनेको चिडियाखानाले जनाएको छ । यही २१ जेठमा भएको प्रतिस्पर्धामा ब्राइट फ्युचर विद्यालय उत्कृष्ट छनोट भएको हो ।

वन र वन्यजन्तु जोगाउन आवश्यकता प्रष्टयाउने नाटक बुधबार (२३ जेठमा) चिडियाखाना परिसरमा आयोजित विशेष कार्यक्रममा पनि प्रदर्शन गरियो । त्यसैगरी दिगो विकास र वातावरणका विभिन्न आयाम समेटिएको निबन्ध लेखन प्रतियोगिता, चित्रकला, कथा वाचन, प्रतिवेदन लेखनलगायतका प्रतियोगिताका सर्वोत्कृष्ट विद्यार्थी सम्मानित भए । चित्रकलामा ५६ जना विद्यार्थी, निबन्ध लेखनमा ५३ जना, कथा वाचनमा ४९ जना विद्यार्थीबिच प्रतिस्पर्धा भएको चिडियाखानाले जनाएको छ ।

वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडी, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. सिन्धुप्रसाद ढुंगानालगायतले सर्वोत्कृष्ट विद्यार्थी/विद्यालयलाई सम्मानपत्र प्रदान गरे । सो अवसरमा बोल्दै मन्त्री सुडीले वन तथा वातावरण मन्त्रालय र मातहतका निकायबिचको साझा पहलले दुर्लभ जिवजन्तु, जैविक विविधताको संरक्षण सफल भइरहेको बताउँदै आगामी दिनमा पनि विषयगत मन्त्रालय र निकायहरूबिच हातेमालो हुनुपर्नेमा जोड दिए ।

उनले भने, ‘वातावरण संरक्षणसहितको दिगो विकासको परिणाम भावी सन्ततीले देख्न पाउनुपर्छ । यसका लागि पर्यावरणीय क्षेत्रको संरक्षण जरूरी छ ।’ वन मन्त्रालयका निमित्त वन सचिव प्रदीपकुमार कोइरालाले हरित जलवायु कोष र जलवायुजन्य हानी नोक्सानी कोषबाट प्राप्त हुने रकम नेपालजस्ता देशहरू स्वतः क्षतिपूर्ति रकमका रूपमा प्राप्त गर्न लविइङ गर्नुपर्नेमा जोड दिए ।

ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले चिडियाखाना आफ्नो नगरको गतिलो पहिचान भएको उल्लेख गर्दै नगरले गर्दै आएको आर्थिक र अन्य सहयोग निरन्तर रहने प्रतिबद्धता जनाए । चिडियाखाना भित्रको पोखरीको दिगो संरक्षण गरी नगरभित्रका ढुंगेधारा र पानीका अन्य स्रोतलाई जोगाउन नगरपालिकाले बजेटसहितको विशेष योजना सार्वजनिक गर्ने तयारी गरेको उनले बताए ।

सोही कार्यक्रममा चिडियाखानाका चिम्पान्जी पालन पोषणका लागि प्रभु शम्शेर जबरा र राज्यलक्ष्मी राणा ट्रस्टले अभिभावकत्व ग्रहण गरी वार्षिक १० लाख रूपैयाँको चेक हस्तान्तरण गरेको छ । सो ट्रस्टले विगत ३ वर्षदेखि चिम्पान्जीको अभिभावकत्व ग्रहण गर्दै वार्षिकरूपमा १० लाख रूपैयाँ उपलब्ध गराउँदै आएको छ ।

ललितपुर महानगरले पनि गत वर्षदेखि चिडियाखानाको ‘महाराजा’ नामक बाघको वार्षिक आहरा खर्चका लागि १५ लाख रूपैयाँ सहयोग गर्दै आएको छ । सेन्ट जेभियर्स विद्यालयका विद्यार्थीले पनि एउटा गैंडाको पालन पोषणका लागि अभिभावकत्व ग्रहण गरेका चिडियाखाना प्रशासनले जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार