Friday, October 18, 2024

जलवायुका असर न्यूनीकरण गर्न राष्ट्रपतिको अपिल

२३ जेठ, काठमाडौं
राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनका असर घटाएर भावी पुस्ताको भविष्य सुरक्षित गर्न विश्व समुदायलाई अपिल गरेका छन् ।

राष्ट्रपति भवनमा बुधबार विहान (२३ जेठमा) आयोजित कार्यक्रममा उनले विश्वव्यापी उष्णताको बढ्दो प्रभावबाट तीव्र रूपमा हिमशृङ्खला र हिमतालमा आएको परिवर्तनले तल्लो तटीय क्षेत्रमा बाढी–पहिरोसँगै जीवनयापनका चुनौती थपिएका बताए ।

विश्व वातावरण दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले भने, ‘जलवायु परिवर्तन, प्रदूषण र जैविक विविधताको क्षयका कारण सृजित संकटसँग नेपाललगायत सम्पूर्ण विश्वका अन्य मुलुक जुधिरहेका छन् । कसैको एकल प्रयासले यी संकट समाधान हुन सक्दैनन्, सबै एकताबद्ध हुनुपर्छ ।’ राष्ट्रपति पौडेलले विश्व वातावरण दिवसको नारा ‘हाम्रो भूमि, हाम्रो भविष्यः भूमि पुनःस्थापना, मरुभूमिकरण र खडेरी प्रतिरोध’मा हाम्रा साझा चुनौती र अवसर समाहित भएका उल्लेख गरे ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपालका हिमालको संकट, जलवायु परिवर्तनको उच्च जोखिम तथा नेपाललगायत अन्य पर्वतीय मुलुकका जलवायुजन्य समस्या घटाउन लिएको चासोको उनले स्मरण गरे । हरितगृह ग्यास उत्सर्जनमा नगण्य योगदान गरेको नेपालमा यसबाट प्रभावित भएकामा चिन्ता व्यक्त गर्दै जलवायु परिवर्तनले उत्पन्न समस्या समाधान गर्न तथा प्रभाव घटाउन विश्व समुदाय एकजुट हुनुपर्नेमा पौडेलले जोड दिए ।

जलवायुका असर कम गर्न नेपालले राष्ट्रियस्तरमा विभिन्न कार्य गर्दै आएको तथा यो विषय सरकारको नीति तथा कार्यक्रममा पनि सम्बोधन भएको उनले बताए । राष्ट्रपति पौडेलले राष्ट्रपति जलवायु परिवर्तन व्यवस्थापन कार्यक्रमले जलवायु परिवर्तनका नकरात्मक असर न्यून गर्दै अनुकूलन क्षमता वृद्धिमा सहयोग गर्ने विश्वास व्यक्त गरे ।

उनले सो कार्यक्रमका माध्यमबाट उच्च हिमशृङ्खला र नदी प्रणालीलाई जीवन्त राख्दै हिमाल, पहाड र तराई क्षेत्रमा जलवायु परिवर्तनका असरलाई एकीकृत र सन्तुलित रूपमा सम्बोधन हुने बताउनुभयो । पौडेलले वातावरण संरक्षणसँगै चौतारी र पोखरीको संरक्षण आवश्यक भएको बताए ।

सोही कार्यक्रम पश्चात उनले राष्ट्रपति भवन परिसरमा पलाँसको बिरुवा रोपेर वृक्षरोपरणको शुभारम्भ गरे । साथै उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालले पनि विभिन्न प्रजातिका विरुवा रोपे । कार्यक्रममा मुख्यसचिव वैकुण्ठ अर्याल, प्रधान सेनापति प्रभुराम शर्मा, सुरक्षा निकायका प्रमुख, नेपालस्थित विभिन्न देशका राजदूत तथा दातृ निकायका प्रमुखहरूको उपस्थिति थियो ।


रासस

ताजा समाचार

सम्बन्धित समाचार