Saturday, July 27, 2024

३ महिनामा ३ बाघ मृत भेटिए

११ जेठ, चितवन
चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रसँग नजिक नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का राष्ट्रिय तथा सामुदायिक वनमा दुलर्भ पाटेबाघको गतिविधि बढेसँगै मृत्यु हुनेक्रम बढेको छ ।

गत फागुनदेखि यही ९ जेठसम्ममा जिल्लामा ३ वटा बाघ मृत फेला परेका छन् । निकुञ्ज र मध्यवर्ती वनभन्दा बाहिरका जनावरको निकुञ्जले संरक्षणमा ध्यान नदिने र डिभिजन वन कार्यालयले आफ्नो इलाकामा रहेका वन्यजन्तुको गणना नगर्ने भएकाले यो क्षेत्र अहिले बाघका लागि असुरक्षित बन्दै गएको छ ।

यसअघि २ वटा भाले पाटेबाघ मृत फेला परेका थिए भने अहिले फेरि पोथी मृत भेटिएको हो । बुधबार साँझ (९ जेठमा) विनयी त्रिवेणी गाउँपालिका–२ दुम्किबासको विनयी खोला बगरमा बाघ देखेपछि स्थानीयले शव डिजिभन वन कार्यालय दुम्किबासलाई खबर गरेका थिए । खोला किनारमा ४/५ दिनदेखि स्थानीयले बाघ देखे पनि मानवीय क्षति हुने ढंगले आक्रमण नगरेपछि कसैले चासो दिएका थिएनन् ।

बाघको गतिविधि शंकास्पद लागेपछि स्थानीयले वन कार्यालयलाई खबर गरेको जनाएका छन् । प्रहरी र डिभिजन वन कार्यालयका कर्मचारीले मृत बाघ फेला पारेका सब डिभिजन वन कार्यालय दुम्किबासका वन अधिकृत कुलचन्द्र दवाडीले बताए । अर्को बाघको आक्रमणबाट घाइते भएर जंगल बाहिर निस्केको सो बाघलाई बेलैमा उद्धार गरेको भए बचाउन सकिने सम्भावना रहेको दवाडी बताउँछन् ।

यसअघि यस क्षेत्रमा बँदेललाई थाप्न राखेको पासोमा परेर एउटा भाले बाघ मरेपछि पासो हटाउन र बाघको उद्धारमा ध्यान दिइएको छैन । पछिल्लो पटक मृत फेला परेको बाघ करिब १० वर्षको हो । सो बाघ सिकारीको आक्रमणबाट नभई भाले बाघ वा अन्य कुनै जंगली जनावरको आक्रमणबाट घाइते भई बिरामी परेर मरेको चितवन राष्ट्रिय निकुञ्जका पशु चिकित्सक डा. विजयकुमार श्रेष्ठले जानकारी दिए । सो बाघको शव परीक्षणपछि बिहीबार डिभिजन वन कार्यालय कावासोती परिसरमा पुरिएको छ ।

निकुञ्ज र मध्यवर्ती क्षेत्रभित्र बाघका लागि पर्याप्त आहार भए पनि नयाँ वयस्क र बुढा भएका बस्ती नजिकका जंगलमा आउने गर्छन् । नवलपुरका राष्ट्रिय तथा सामुदायिक वनमा १० देखि १२ बाघ रहेको अनुमान गरिएको छ । नवलपुरमा मृत भेटिएका ३ बाघमध्ये एउटालाई खाडल खनेर गाडिएको अवस्थामा फेला परेको थियो । सोही आधारमा नवलपुरका वन क्षेत्रमा तस्करको निशानामा बाघ रहेको प्रष्ट हुन्छ ।

जिल्ला प्रहरी कार्यालय प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले अघिल्ला दुई पाटेबाघ मरेको घटनामा अझै अनुसन्धान जारी रहेको जानकारी दिए । बँदेल मार्न थापेको पासोमा परेर बाघ मरेको भन्ने खुले पनि कसले मारेको अझै यकिन भएको नभएको उनले बताए ।

रासस

ताजा समाचार

सम्बन्धित समाचार