Saturday, July 27, 2024

२ हजार १ सय ७४ हेक्टर वनमा क्षति

११ जेठ, बागलुङ
डढेलोका कारण दुई महिनामा बागलुङमा २ हजार १ सय ७४ हेक्टर वनमा क्षति भएको छ । गत ११ फागुनमा बरेङको सल्लेरी सामुदायिक वनबाट सुरु भएको डढेलो १९ वैशाखसम्ममा ६८ वटा वनमा फैलिएको थियो ।

जिल्ला डिभिजन वन कार्यालयका अनुसार ११ फागुनदेखि सुरु भएको डढेलो वैशाख तेस्रो साता सम्ममा ६८ वनमा लागेको थियो । यो अवधिमा ६६ सामुदायिक वन तथा २ वटा राष्ट्रिय वनमा डढेलो लागेको डिभिजन वन अधिकृत सरोज पन्थीले जानकारी दिए । राष्ट्रिय तथा सामुदायक वनमा आगलागीले ठूलो क्षति भएको उनले बताए ।

२ हजार १ सय ७४ हेक्टर वनमा देखिने क्षति भए पनि अप्रत्यक्ष रूपमा वन्यजन्तु र पर्यावरणमा ठूलो क्षति भएको पन्थीले जानकारी दिए । तमानखोला गाउँपालिका–२ स्थित रानीवन सामुदायिक वनमा १३ वैशाखमा लागेको डढेलोले १ जनाको मृत्यु र २ जना घाइते भएका थिए ।बागलुङ नगरपालिका–१२ अमलाचौर हिलेजुके सामुदायिक वनमा १९ वैशाखको डढेलोबाट १ घर, ३ गोठ जलेको थियो भने २ भैँसी, ३ गाई, ५ वटा बाख्रा मरेका थिए ।

ताराखोला गाउँपालिका–१ स्थित राष्ट्रिय वनमा लागेको डढेलोबाट ३ घर, ५ गोठ, ६ बाख्रा, २ भैँसी र एउटा राँगा मरेका थिए । पन्थीले भने, ‘जङ्गली जनावर पनि मरेका छन्, केही बस्तीमा छिरेका पाएका छौँ, जनावारको क्षतिको तथ्याङ्क सङ्कलन गर्न सकिएको छैन ।’ जिल्लामा १ लाख ५ हजार ५ सय १ हेक्टर जमिनमा वन फैलिएको छ । जिल्लाको ३३ हजार ९ सय ९ हेक्टरमा ५ सय २७ सामुदायिक वन छन् ।

रासस

ताजा समाचार

सम्बन्धित समाचार