Sunday, September 8, 2024

जलवायु अनुकुलका लागि फिनल्यान्डको १ अर्ब ८७ करोड अनुदान

८ जेठ, काठमाडौं
फिनल्याण्ड सरकारले नेपालको स्थानीय जलवायु अनुकूलन कार्यक्रमका लागि १ अर्ब ८७ करोड रूपैयाँ उपलब्ध गराएको छ । मंगलबार (८ जेठमा) अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा आर्थिक सहायतासम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

अर्थ मन्त्रालयका सह–सचिव श्रीकृष्ण नेपाल र नेपालका लागि फिनिस राजदूत रिना–रिक्का हेक्काले यसबारेको सम्झौतामा हस्ताक्षर गरे । यो रकम कर्णाली र सुदूरपश्चिम प्रदेशका स्थानीय तहमातर्फत जलवायु अनुकूलन कार्यक्रम सञ्चालनमा खर्च हुने बताइएको छ । नेपाली समुदायले जलवायु परिवर्तनको नकारात्मक प्रभावको सामना गरिरहेको उल्लेख गर्दै राजदूत हेक्काले यस्तो असरबाट अनुकूल कार्यक्रम उपलब्धीमूलक हुने विश्वास व्यक्त गरिन् ।

उनले भनिन्, ‘यस्ता परियोजना मार्फत जलवायु परिवर्तनबाट सबैभन्दा बढी प्रभावित व्यक्तिहरूको जीवनमा परिवर्तन ल्याउन सक्छौ भन्ने हाम्रो विश्वास हो ।’ यो सम्झौता संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन (कोप–२८) का क्रममा फिनल्याण्ड र युरोपेली संघले गरेको प्रतिबद्धता कार्यान्वयनको एक हिस्सा भएको राजदूत हेक्काले प्रष्ट्याइन् ।

गत कार्तिकमा संयुक्त अरब इमिरेट्मा सम्पन्न कोप–२८ मा कार्बन जलवायु परिवर्तनको प्रभावबाट जोखिममा रहेका नेपालजस्ता विकासोन्मुख मुलुकलाई विकसित मुलुकले जलवायु अनुकूलन कार्यक्रमका लागि सहयोग गर्ने प्रतिद्धता जनाएका थिए ।

नेपाल र फिनल्याण्ड तथा पुरोपेली संघबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पुगेको अवसरमा उक्त सम्झौता भएको कार्यक्रममा जानकारी गराइयो । महिला समुदायलाई लाभान्वित गर्ने लक्ष्य राखिएको परियोजनाले खाद्य, आय वृद्धि गर्न जलवायु(उत्थानशील कृषि कार्यक्रम, प्राकृतिक स्रोतहरूको दिगो प्रयोगमा जोड दिनेछ । परियोजनाको कार्यान्वयन आगामी आर्थिक वर्ष २०८१/८२ मा हुनेछ ।

ताजा समाचार

सम्बन्धित समाचार