१८ माघ, काठमाडौं
‘फोहोरबाट मोहोर’, यो उक्ति सहर र सहर उन्मुख क्षेत्रमा अर्को चर्चित उक्ति ‘बुझ्नेलाई श्रीखण्ड, नबुझ्नेलाई खुर्पाको बिँड’झैं बनेको छ ।अव्यवस्थित बसोबास, बढ्दो आधुनिक जिवनशैलीले नगरजन्य फोहोरको परिमाण वृद्धि एवं व्यवस्थापन जटिल बनिरहँदा स्रोतमै (घर, भान्सामा) जैविक फोहोर व्यवस्थापन गर्न सके समस्या जटिल नबन्ने तथ्य र उदाहरण बढिरहेका छन् ।
एउटा घरले दैनिक १ किलो कुहिने फोहोर घरमै व्यवस्थापन गर्न सक्ने र काठमाडौंका ५ प्रतिशत घरधुरीले नियमित बिन प्रयोग गर्दा दैनिक ४० टन हाराहारी जैविक फोहोर ल्यान्डफिल साईट पु¥याउनु नपर्ने अध्ययनले देखाएको छ । उपत्यकामा दैनिक १ हजार ५ सय हाराहारी नगरजन्य फोहोर संकलन हुने गरेकोमा त्यसमध्ये ६५ देखि ७० प्रतिशत हाराहारी कुहिने फोहोर तयार हुने विज्ञहरूको विश्लेषण छ ।
करिब ४ हजार घरधुरीले दैनिक १ किलो फोहोर स्रोतमै व्यवस्थापन गर्दा प्रतिदिन ४ टन फोहोर घर कम्पाउन्डमा व्यवस्थापन गर्न सकिने एसियाली विकास बैंक (एडिबी)को अध्ययनमा पाइएको छ । स्रोतमै फोहोर घटाउँदा प्रतिटन ३ देखि ६ हजार रूपैयाँसम्म वचत हुने र ल्यान्डफिल साईटको चाप घटाउन टेवा पुग्ने अध्ययनको ठहर छ ।
‘कम्तिमा काठमाडौंका ५ प्रतिशत घरधुरीले मात्रै स्रोतमै फोहोर वर्गिकरण गर्दै नियमित बिन प्रयोग गर्ने हो भने फोहोर व्यवस्थापन शीर्षकमा मात्रै दैनिक ३ देखि ५ लाख रूपैयाँ वचत हुन्छ’, अध्ययनमा संलग्न फोहोर मैला व्यवस्थापन विज्ञ डा. ढुण्डीराज पाठक भन्छन् । १ हजार ५ सय टन फोहोरमध्ये करिब ३ सय ५० टन फोहोर पुनःप्रयोग र पुनः चक्रीय फोहोर उद्योगहरूमा पुग्ने पाठकलगायतका विज्ञहरूको ठहर छ ।
एडिबीले वाग्मती नदी तटीय क्षेत्रका गोकर्णेश्वर, कागेश्वरी–मनोहरा नगरपालिका र काठमाडौं महानगरका विभिन्न १८ वटा वडाहरूमा स्थानीयले फोहोरमैला व्यवस्थापनमा अपनाएका अभ्यासको अध्ययन गरेको हो । काठमाडौं उपत्यकाको फोहोर नुवाकोटको बञ्चरेडाँडा ल्यान्डफिल साईटमा पु¥याउन दैनिक २ सय हाराहारी ट्रक र टिपर प्रयोगमा छन् । १ हजार ५ सय टन हाराहारी फोहोर व्यवस्थापन ल्यान्डफिल पु¥याउन २ सय हाराहारी ट्रक आवश्यक पर्ने काठमाडौं महानगरको वातावरण विभाग प्रमुख रविनमान श्रेष्ठले बताए ।
भन्छन्, ‘बञ्चरेडाँडामा बनेपा (धुलिखेल नगरपालिका)सहित २३ वटा नगरपालिकाको फोहोर व्यवस्थापन हुँदै आएको छ, केही समययता भक्तपुरको फोहोर पनि बञ्चरेडाँडा पुगिरहेको छ ।’ स्रोतमा फोहोर वर्गिकरण नगरी सबै प्रकृतिका फोहोर ल्यान्डफिल साईट पु¥याउँदा ढुवानी, इन्धन र अन्य शीर्षकमा खर्च बढिरहेको स्वीकार्दै श्रेष्ठले भने, ‘स्रोतमा फोहोर वर्गिकरण नगरेसम्म समस्या सहज हुँदैन ।’ ठोस र जैविक फोहोर वर्गिकरण अनिवार्य गर्न/गराउन महानगरले केहीदिन भित्रमा सार्वजनिक सूचना जारी गर्ने र वर्गिकरणको अभ्यास दिगो बन्ने उनको दाबी छ ।
५ वर्षअघि दैनिक १ सय २५ हाराहारी ट्रक टिपर तत्कालीन सिसडोल ल्यान्डफिल साईटमा पुग्ने गरेका थिए । सो बेला दैनिक ७ सय ५० मेट्रिकटन हाराहारीको फोहोर सिसडोल पुग्ने गरेको काठमाडौं महानगरको अभिलेख छ । उपत्यकामा नगरपालिका र निजी क्षेत्रले फोहोर संकलन गर्दै आएका छन् । काठमाडौं महानगर आफैंले दैनिक २ सय टन हाराहारी फोहोर संकलन गर्दै आएको छ । यो नगरमा निजी क्षेत्रले दैनिक ४ सय टन हाराहारी फोहोर संकलन गर्ने श्रेष्ठले जानकारी दिए । करिब ७० प्रतिशत फोहोर निजी क्षेत्रले ल्यान्डफिल साईट पु¥याउने गरेका छन् ।
काठमाडौं महानगरले करिब १४ प्रतिशत र ललितपुर महानगरले ७ प्रतिशत फोहोर बञ्चरेडाँडा पु¥याउँछन् । अन्य फोहोर बंगुर फार्म लगायत अन्य जनावरको खाना/चारो, मल तयार गर्न (खाल्टे र बिनमार्फत बनाइने मल), मलकै लागि गड्यौला पालन लगायतको प्रयोजनमा जैविक फोहोर प्रयोग हुने विज्ञहरू बताउँछन् ।
काठमाडौंदेखि बञ्चरेडाँडासम्म फोहोर पु¥याउन औसतमा प्रति टिपर ७ हजार ५ सय हाराहारी खर्च हुने गर्छ । यो खर्च घर, कार्यालय र सार्वजनिकस्थलबाट ल्यान्डफिल साईट पु¥याउँदा सम्मको हो ।
विगतमा पनि काठमाडौं महानगर लगायत अन्य सरोकारवाला संघ/संस्थाको अध्ययनअनुसार काठमाडौंसहित अधिकांश नगरमा ७० प्रतिशत हाराहारी जैविक फोहोर निस्कने पाइएको थियो । कोभिड महामारीको पहिलो चरण (२०७८/२०७९)मा जैविक फोहोरको मात्रा ७५ प्रतिशत हाराहारीसम्म पुगेको सहरी फोहोरको अध्ययन अनुसन्धानमा क्रियाशिल डा.पाठक बताउँछन् ।
बढ्न थाल्यो बिनको माग
वाग्मती नदी किनाराको फोहोर व्यवस्थापन एवं घर र भान्साबाट निस्कने जैविक फोहोरलाई स्रोतमै व्यवस्थापन गर्न अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले केही वर्षयता स्थानीयलाई कम्पोस्ट बिन वितरण गर्न थालेको छ । समितिले विभिन्न चरणमा ६ हजारभन्दा बढी बिन वितरण गरेको छ ।
बजारमा ४ हजार रूपैयाँ हाराहारी पर्ने १ सय लिटरको बिनलाई समितिले १ हजार ३ सय ५० रूपैयाँका दरले उपलब्ध गराउँदै आएको छ । बिनको नियमित प्रयोग गर्दा भान्सादेखिको फोहोर वाग्मती, विष्णुमती र अन्य खोला, सडक किनारामा फ्याँक्न रोकिने समितिको ठहर छ ।समुदायस्तरका लागि ५ सय लिटरका बिनको डिजाइन गरी समितिले वाग्मती किनाराका विभिन्न संघ/संस्थालाई हस्तान्तरण गर्दै आएको छ । समितिले बिन वितरण भएका क्षेत्रमा बिनको प्रयोगको प्रभावकारीता र जैविक फोहोर स्रोतमै व्यवस्थापन भए/नभएको अध्ययन गरेको छ ।
सन् २०१७ देखि सन् २०१९सम्म वितरण भएका बिनको उपयोगिता र प्रभाव स्थलगत अध्ययन अवलोकन गर्दा अधिकांश घरधुरीले जैविक फोहोर व्यवस्थापन गरिरहेका पाइएको छ । कागेश्वरी–मनोहरा नगरका ५ र ८ वडा, गोकर्णेश्वर नगरका ५, ६, ७, ८ र ९ वडा र काठमाडौं महानगरका ७, ९ र ३१ वडामा अध्ययन गरिएको हो ।
अध्ययन गरिएका ३ सय ९३ घरधुरीहरू मध्ये गोकर्णेश्वरबाट २ सय ३६, कागेश्वरी–मनोहरामा २६ घर र काठमाडौं महानगरका १ सय ३४ घरधुरी समावेश थिए । जैविक फोहोर घरमै व्यवस्थापन गर्ने अभ्यास प्रभावकारी बन्दै जाँदा वाग्मती किनाराका अन्य वस्तीहरूमा पनि बिनको माग बढ्न थालेको अधिकार सम्पन्न एकीकृत वाग्मती सभ्यता विकास समितिका उप–आयोजना निर्देशक उद्धव नेपालले बताए । ‘समितिले अब सिनामंगलदेखि नख्खु क्षेत्रमा बिन वितरण गर्दै प्रयोगको अभ्यास पनि सिकाउने तयारी गरेको छ’, उनले भने ।
जोरपाटीदेखि चोभारसम्मको क्षेत्रमा वाग्मती नदी काठमाडौंका ८ वटा वडा, ललितपुर महानगरका ८ वटा वडा र कीर्तिपुर नगरपालिकाका ३ वटा वडासँग जोडिएको छ । माथिल्लो भेगमा भइरहेका राम्रा अभ्यास र सिकाइ क्रमशः तल्लो तटीय क्षेत्रमा विस्तार गर्दा परिणाम प्रभावकारी बन्ने समितिका सिनियर डिभिजनल इन्जिनियरसमेत रहेका नेपालले बताए ।
समिति मातहतको वाग्मती सुधार आयोजनाले जैविक फोहोरलाई स्रोतमै घटाउने पुनः प्रयोग र पुनः प्रशोधन जस्ता अभ्यासलाई जोड दिँदै आएको छ । बिनको प्रयोग नदी तटीय क्षेत्रका बस्तीहरूमा वितरण गर्न आयोजनाले यही वर्ष १ हजार ६ सय वटा बिन खरिद गरेर १ हजार ४ सय रूपैयाँमा वितरण गर्ने प्रक्रिया अघि बढाएको छ ।
बजारमा ४ हजार रूपैयाँ हाराहारी पर्ने बिन सहुलियत दरमा वितरण भइरहेको बताउँदै आयोजनाका एक अधिकारी भन्छन्, केवल बिन मात्रै वितरण हुँदैन, प्रयोगलाई निरन्तरता दिन कौसी खेती र व्यवसायिक रूपमा मल उत्पादनको तालिम पनि सँगसँगै हुने गरेकाले यो कार्यक्रम बहुउपयोगी बन्न थालेको छ ।’
वाग्मती तटीय क्षेत्रको ललितपुर खण्डमा ‘एक घर एक कम्पोस्ट बिन’लाई अभियानकै रूपमा अघि बढाइएको छ । वडा नागरिक मञ्च र समुदायसँगको सहकार्यमा जैविक फोहोर व्यवस्थापन र फोहोरलाई मोहोरमा बदल्ने अभ्यासका लागि कम्पोस्ट बिन अनिवार्य हुने ललितपुर महानगर–१का वडा नागरिक मञ्च संयोजक विवेक तण्डुकार बताउँछन् ।
हालै मात्र वाग्मती आयोजनाबाट ५ सय वटा बिन ल्याइएको बताउँदै उनले भने, ‘१ सय हाराहारी बिन वितरण भइसकेको छ, तालिम पश्चात क्रमशः वितरण हुने छ ।’ ललितपुरका विभिन्न भेगमा हालसम्म ७ सय घरधुरी हाराहारी बिन वितरण भएको तण्डुकारले जानकारी दिए ।
ठोस फोहोर पुनः काठमाडौंमै
फोहोरमैला व्यवस्थापन ऐन २०६८ले फोहोरलाई स्रोतमै वर्गिकरण गर्नुपर्ने व्यवस्था गरेको छ । काठमाडौं महानगरसहित अन्य नगरपालिकाहरूले स्रोतमै फोहोर वर्गिकरण गर्न विभिन्न समयमा कदम चालेका छन् । तर कानून र नीति नियम कार्यान्वयन नहुँदा बञ्चरेडाँडा पुग्ने फोहोरको हिस्सा पुनः काठमाडौंमै फर्काउने गरिन्छ ।
नसड्ने, नकुहिने प्रकृतिको ठोस फोहोर (पुनः प्रयोग र पुनः चक्रीय फोहोर) उपत्यकामै फर्किने गर्छ । प्लास्टिक, पत्रपत्रिका, कार्टुन, कपडा, प्लास्टिकजन्य र विद्युतीय सामग्री, फलामका टुक्रा ल्यान्डफिलबाट पुनः काठमाडौं पुग्ने बञ्चरेडाँडा ल्यान्डफिल साईटका इन्चार्ज सरकारदीप श्रेष्ठले जानकारी दिए । घर र स्रोतमै फोहोर वर्गिकरण नहुँदा यस्तो हुने गरेको उनको अनुभव छ ।
श्रेष्ठ भन्छन्, ‘दैनिक ५ ट्रक हाराहारी ठोस ल्यान्डफिलमा संकलन हुन्छ, ठोसमा धेरैजसो प्लास्टिकजन्य फोहोर हुन्छ । घर र टोलवस्तीबाट संकलन हुने फोहोर नगरपालिका र निजी क्षेत्रले छुट्याउने क्षेत्र र संरचना (प्लान्ट) नहुँदा फोहोर व्यवस्थापनमा दोहोरो खर्च भइरहेको छ ।’ उपत्यकामा संकलन हुने ठोस फोहोरमध्ये १२ देखि १५ प्रतिशत हाराहारी प्लास्टिक फोहोर, १० देखि १२ प्रतिशत कागजजन्य, बाँकी सिसा, धातुलगायतका फोहोर हुने गरेको अनुसन्धाता डा. पाठक बताउँछन् । ‘ठोस फोहोरमा केही वर्षयता स्यानीटरी प्याड र डाइपरको मात्रा बढ्न थालेको छ’, उनले भने ।