Tuesday, October 22, 2024

भूकम्प पीडितलाई बेलायतद्वारा २ अर्ब बढीको सहयोग

३ जेठ, काठमाडौं
बेलायत सरकारले जाजरकोटका भूकम्पपीडितको सहयोगार्थ २ अर्ब १९ करोड रूपैयाँ भन्दा बढीको आर्थिक सहयोग उपलब्ध गराएको छ ।भूकम्प प्रभावित पालिकाहरूमा यो रकम खर्च हुने छ ।

५० हजार व्यक्तिलाई स्वच्छ पेयजल, सरसफाइ, पोषण, खाद्य सुरक्षालगायतका आवश्यकता सम्बोधन गर्न २ अर्ब १९ करोड ९२ लाख रूपैयाँ बराबरको सहयोग बेलायतले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत हस्तान्तरण गरेको हो । बहुसाझेदार कोषमार्फत प्राप्त यो सहायता कार्यान्वयनका लागि नेपालस्थित राष्ट्रसंघीय कार्यालयका आवासीय संयोजक हाना सिङ्गर हाम्दी नेतृत्वको टोली परिचालन हुने बताइएको छ ।

सबैभन्दा कमजोर र प्रभावित समुदायको सहज जीवनयापनका लागि यो सहयोग उपयोगी बन्ने नेपालस्थित बेलायती दूतावासका विकास निर्देशक पिप्पा बर्डको विश्वास छ । बिहीबार (३ जेठमा) सहयोग हस्तान्तरण कार्यक्रममा उनले भनिन्, ‘भूकम्प प्रभावित क्षेत्रका स्थानीय सरकारहरूको पुनःस्थापना, खानेपानी आपूर्ति सुविधा, साना सिँचाइ प्रणाली, लघु जलविद्युत संरचना, विद्यालय र ग्रामीण सडकहरूको पुनर्निर्माणमा बेलायतले थप ७१ करोड ५ लाख ६३ हजार रूपैयाँको सहयोग गर्ने छ ।’

यस्ता पूर्वाधार कार्यहरूले स्थानीयस्तरमा रोजगारी प्रदान गर्ने, विपद् र जलवायु परिवर्तनको दीर्घकालीन लचिलोपन सुनिश्चित गर्ने बेलायतको विश्वास छ । गत वर्षको १७ कार्तिकमा जाजरकोटलाई केन्द्रविन्दु बनाएर ६.४ म्याग्निच्युडको भूकम्प जाँदा १ सय ५७ जनाको निधन भएको थियो । सो भूकम्प लगत्तै बेलायतले ८ करोड ४० लाख रूपैयाँ बराबरको आर्थिक सहयोग प्रदान गरेको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार