२४ असार, काठमाडौँ ।
मौसमविद्हरूले यस वर्षको मनसुनमा लामो समयसम्म सुक्खा अवस्था रहने, अचानक अत्यधिक वर्षा हुने, आकस्मिक बाढी, पहिरो तथा हिमनदीसँग सम्बन्धित जोखिम बढ्नसक्ने चेतावनी दिएका छन् ।
पाकिस्तान र भारतका विभिन्न स्थानमा विनाशकारी बाढी तथा बादल फाटेर उत्पन्न भएका विपद्का घटना जारी रहेकाले हिन्दूकुश हिमालय (एचकेएच) क्षेत्रका समुदायले यस वर्षको मनसुनमा मौसमीय प्रवृत्तिको सामना गर्नुपर्ने मौसम पूर्वानुमानकर्ताले चेतावनी दिएका हुन् ।
पाकिस्तानको गिलगिट–बाल्टिस्तानमा हालै बादल फाटेर आएको छ । भारतको अरुणाचल प्रदेशमा अत्यधिक वर्षाका कारण आएको बाढीपछि मौसम विशेषज्ञले सचेत गराएका हुन् । मनसुन पूर्वानुमान २०२६ ले हिन्दकुश हिमालय क्षेत्रका अधिकांश भागमा मौसमी वर्षा सामान्यभन्दा कम रहने प्रक्षेपण गरेको छ ।
अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) का विपद् जोखिम न्यूनीकरण विशेषज्ञ सस्वता सन्यालले मौसमी वर्षा कम हुनु बाढीको जोखिम पनि कम हुने बताइन् ।
‘मौसमी पूर्वानुमानले केही महिनाको औसत अवस्थालाई देखाउँछ, कुनै एक उपत्यकामा के हुन्छ भन्ने होइन । ‘एल निनो’को प्रभावमा लामो सुक्खा अवधिबीच स्थानीय रूपमा हुने अत्यधिक वर्षाले विनाशकारी आकस्मिक बाढी र पहिरो निम्त्याउन सक्छ’, उनले भनिन् ।
मनसुन असमान हुने र पूर्वानुमान गर्न कठिन बन्दै गएको छ । लामो समयसम्म सुक्खा अवस्था रहँदा कृषि र पानी आपूर्तिमा दबाब बढिरहेको छ । छिटपुट अत्यधिक वर्षाका घटनाले जनजीवन र पूर्वाधारलाई निरन्तर जोखिममा पारिरहेका छन् ।
सामान्यभन्दा बढी तापक्रमले सिन्धु, गंगा र ब्रह्मपुत्र नदी प्रणालीका हिमनदी–आधारित नदी बेसिनमा जोखिम अझ बढाउने अनुमान गरिएको छ । बढ्दो तापक्रमले हिमनदी र हिउँ पग्लिने प्रक्रिया तीव्र बनाउँछ, जसले नदीमा थप पानी बढ्छ । यसले पहाडी भिरालो भू–भाग तथा हिमताललाई अस्थिर बनाउँछ ।
जलविज्ञ मनिष श्रेष्ठले पाकिस्तानको ‘थोरे’ उपत्यकामा हालै आएको बाढीले हिन्दकुश हिमालय क्षेत्रको जोखिम देखाएको उल्लेख गरे । उनले भने, ‘अत्यधिक वर्षा, हिमनदी पग्लिनु, अस्थिर भिरालो जमिन र तीव्र गतिमा बढ्ने नदी एकअर्कासँग मिलेर शृंखलाबद्ध विपद् सिर्जना गर्न सक्छन् । तयारी पनि संयुक्त जोखिमलाई ध्यानमा राखेर गर्नुपर्छ, प्रत्येक जोखिमलाई अलग रूपमा हेरेर होइन ।’
यस्तो अवस्थामा सरकारले खडेरी, अत्यधिक गर्मी, आकस्मिक बाढी, पहिरो र हिमनदीसम्बन्धी जोखिमलाई छुट्टाछुट्टै नभई एकीकृत रूपमा सामना गर्न तयारी गर्नुपर्ने जलवायुविज्ञहरूको भनाइ छ ।
नेपाल, भारतका उत्तरी तथा उत्तर–पूर्वी क्षेत्र, पाकिस्तान र अन्य जोखिमयुक्त पहाडी क्षेत्रका नदी किनार, ठाडो ओराले भू–भाग तथा तीव्र रूपमा विस्तार भइरहेका सहरी क्षेत्रमा विशेष ध्यान दिन आवश्यक छ ।
मनसुनका अझै धेरै हप्ता बाँकी रहेका छ । मौसमविज्ञका अनुसार सबैभन्दा ठुलो जोखिम भनेको कम वर्षा हुने दिनलाई कम विपद्को संकेत ठान्नु हो । यस वर्षको मनसुनले खडेरी र बाढी दुवैका लागि एकैसाथ तयारी गर्नुपर्ने आवश्यकता देखाएको छ ।
इसिमोडका जल तथा विपद् जोखिम न्यूनीकरण प्रमुख नीरा श्रेष्ठ प्रधानका अनुसार हिमाली समुदायले लामो समयदेखि प्रयोग गर्दै आएको वैज्ञानिक पूर्वानुमान र स्थानीय ज्ञानलाई एकसाथ संयोजन गर्नु आवश्यक छ । ‘भिरालो भू–भाग र नदी किनारमा रहेका बस्ती यस मनसुनमा बढी जोखिममा रहने स्थानमध्ये पर्दछन्’, उनले भनिन् ।
नदी प्रणाली र राष्ट्रिय सीमापार फैलिने जोखिम व्यवस्थापनका लागि सीमापार पूर्वसूचना प्रणाली तथा सूचना आदान/प्रदानलाई सुदृढ बनाउनु आवश्यक हुँदै गएको मौसम पूर्वानुमानकर्ताले सुझाव दिएका छन् ।
भीष्मराज ओझा/रासस





