Tuesday, November 26, 2024

चुरेको महत्व बुझाउन प्रश्नोत्तर अभ्यास

३ जेठ, काठमाडौं
चुरेको महत्व बुझाउन, यो क्षेत्रका वनस्पति र जीवजन्तु तथा जैविक विविधताको महत्व बुझाउन सामाजिक सञ्जालमार्फत प्रश्नोत्तर सुरु भएको छ ।

साताव्यापी प्रश्नोत्तरमा स्थानीय वनस्पति र जीवजन्तुका तस्बिरहरू समेटिएका छन् । अन्तर्राष्ट्रिय जैविक विविधता दिवसको अवसर पारेर चुरे उत्थानशील आयोजनाको आफ्नो सामाजिक सञ्जाल (फेसबुक र एक्स)मार्फत यस्तो अभ्यास सुरु गरेको हो । यो वर्षको जैविक विविधता दिवस आगामी साता (९ जेठमा) ‘योजनाको हिस्सा बन्नुहोस्’ (बि द पार्ट अफ प्लान) नाराका साथ विश्वभर मनाइदैछ ।

बुधबार (२ जेठमा) सुरु भएको प्रश्नोत्तर दिवसकै दिनमा समापन हुने आयोजनाले जनाएको छ । संयुक्त राष्ट्र संघको महासभाले सन् २०००मा अङ्ग्रेजी महिनाको मे २२ तारिखलाई जैविक विविधता दिवस मनाउने निर्णय गरेसँगै त्यसयता हरेक वर्ष विविध कार्यक्रमका साथ यस्तो दिवस मनाउने गरिन्छ ।

आयोजनाका राष्ट्रिय परियोजना प्रबन्धक बलराम कँडेल भन्छन्, ‘हाम्रो पृथ्वीको स्वास्थ्य र मानव जातिको हितका लागि जैविक विविधता धेरै महत्वपूर्ण छ । जैविक विविधताको संरक्षण गर्न हामीले यसको बारेमा थप चेतना जगाउन आवश्यक छ ।’ यो आयोजना हरित जलवायु कोष (ग्रीन क्लाइमेट फन्ड)ले लगानी गरेको नेपालको पहिलो परियोजना हो । सरकारले वन तथा वातावरण मन्त्रालयमार्फत संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि सङ्गठन (एफएओ)को प्राविधिक सहयोगमा यो आयोजना कार्यान्वयन गर्दै आएको छ ।

आयोजनाले जलवायु–उत्थानशील भू–उपयोगका अभ्यासहरू व्यापक रूपमा अपनाउने, वन फँडानी र वन क्षयीकरणका चुनौतीहरूको सामना गर्ने, चुरे पहाडहरूमा वन–पारिस्थितिकीय प्रणालीलाई राम्रोसँग कायम राख्दै जलवायु उत्थानशीलता बढाउने लक्ष्य राखेको छ । नेपालका मध्य र पूर्वी चुरे क्षेत्रका जोखिममा रहेका २६ वटा नदी प्रणाली आयोजनाको कार्यक्षेत्र हुन् । यो परियोजनाले आवासीय क्षेत्र र जलक्षेत्र बाहेक ७ लाख हेक्टर भन्दा बढी जमिन समेटेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार