Tuesday, October 22, 2024

हरित रोजगारीमा कोरियाको १ अर्ब २७ करोड सहयोग

२ जेठ, काठमाडौं
दक्षिण कोरियाले नेपालमा हरित रोजगारी सिर्जना गर्न १ अर्ब २७ करोड रूपैयाँ भन्दा बढीको आर्थिक सहयोग उपलब्ध गराउने भएको छ ।

यस सम्बन्धी समझदारीपत्रमा नेपालका लागि कोरियाली राजदूत तेयोङ पार्क र अर्थसचिव मधुकुमार मरासिनीले हस्ताक्षर गरेका छन् । १ अर्ब २७ करोड ४० लाख रूपैयाँ (९८ लाख डलर बराबरको सहयोग) कोरियाली अन्तर्राष्ट्रिय सहयोग निकाय (कोइका)मार्फत पोखरा महानगरपालिकालाई प्रदान गरिने बताइएको छ ।

त्यसैगरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नीतिगत तहमा समन्वय गर्ने छ । यो रकम पोखरा महानगरपालिकाले साना तथा मझौला प्रशोधन उद्योगहरूलाई प्रोत्साहन गर्दै हरित रोजगारीका लागि खर्च गर्ने छ । कोरियाली सहयोग खासगरी नगरजन्य फोहोर व्यवस्थापनका माध्यमबाट हरित रोजगारी सिर्जना खर्च हुने अर्थ मन्त्रालयले जनाएको छ ।

नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना भएको ५ दशक पुगेको अवसरमा दक्षिण कोरियाले हरित रोजगारी लक्षित आर्थिक सहयोग प्रदान गरेको हो ।

ताजा समाचार

सम्बन्धित समाचार