Sunday, September 8, 2024

आगलागी र डढेलोबाट वैशाखमा २६ को मृत्यु

३१ वैशाख, काठमाडौं
अधिकतम् तापक्रममा वृद्धि भएसँगै वैशाखमा मुलुकभर आगलागी र वन डढेलोका घटनाबाट धेरै जनधनको क्षति भएको छ । वैशाखमा डढेलो तथा आगलागीका घटनामा देशभर २६ जनाको मृत्यु भएको सरकारी तथ्यांंक छ ।

लामो समय सुक्खा खडेरी हुँदा वैशाखमा मात्र देशभर आगलागीका ८ सय ६१ र डढेलोका ५ सय ७३ घटना भएको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । एकै महिनामा आगलागीका घटनामा २० जनाको मृत्यु भएको छ भने ७३ जना घाइते भए ।

त्यस्तै डढेलोका घटनामा ६ जनाको मृत्यु भएको थियो भने १३ जना घाइते भएको प्राधिकरणका प्रवक्ता डिजन भट्टराईले जानकारी दिए । एक महिनाको अवधिमा आगलागीबाट १ हजार ३ स ६४ र डढेलोबाट ४ सय ७ घरपरिवार प्रभावित भए ।

यस अवधिमा चट्याङबाट ८ जना, लेक लागेर २, बाढी र जनावरको आक्रमणबाट १/१ जनाको मृत्यु भएको थियो । वन तथा भू–संरक्षण विभागले दिएको जानकारीअनुसार वैशाख महिनामा मात्र यति धेरै डढेलोका घटना भएको सम्भवतः पहिलो पटक हो । नेपालमा खासगरी माघदेखि जेठसम्म बढी आगलागी र डढेलो लाग्ने गरेको छ ।

नेपालमा विशेष गरी तराई र भित्री मधेसका जिल्लामा वन डढेलो बढी लाग्ने गरेको विभागको वन डढेलो सूचना कक्षका वन अधिकृत गोविन्दकुमार श्रेष्ठले जानकारी दिए । यस वर्ष हिउँदे वर्षा न्यून भएकाले पनि वन डढेलो धेरै देखिएको विभागको भनाइ छ ।

डढेलोका कारणमध्ये स्थानीयले घाँसको मुना पलाउने आशमा जानाजानी आगो लगाउने गरेका छन् । डढेलो वन व्यवस्थापनको राम्रो औजार भए पनि त्यो नियन्त्रित हुनुपर्ने वन क्षेत्रको जानकारको भनाइ छ । वनजङ्गलमा मानिस वनभोज जाने र आगो त्यतिकै छोड्दा हुने आगलागी, बिँडी, चुरोटका ठूटाबाट समेत वन डढेलो लाग्ने गरेको श्रेष्ठले जानकारी दिए । 

कतिपय संरक्षित क्षेत्रमा स्थानीयले प्रवेश गर्न नपाएको र स्रोतको प्रयोग गर्न नपाएको आवेगमा समेत आगो लगाउने गरेको देखिएको छ । पछिल्लो समय जलवायु परिवर्तन र वन डढेलो बीचको दुश्चक्रीय अन्तरसम्बन्धले समस्या जटिल बन्नुका साथै डढेलोका घटनासमेत वृद्धि भएको पाइएको जनाइएको छ ।

रासस

ताजा समाचार

सम्बन्धित समाचार