Tuesday, November 26, 2024

पूर्वी र मध्य तराईमा भारी वर्षा

३० वैशाख, काठमाडौं
पूर्वी र मध्य तराईका केही भेगहरूमा भारी वर्षा भएको छ । मोरङ, सप्तरी, बारा र आसपासका भेगहरूमा उच्च वर्षा भएको हो ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकाअनुसार २४ घन्टाको अवधिमा यी भेगहरूमा १ सय मिलिमिटर हाराहारी वर्षा भएको छ । उत्तरी मोरङको लेटाङ र आसपासका भेगमा १ सय २ मिलिमिटर, सप्तरीको बरमझियामा १ सय ५.८ र बाराको अमलेखगन्ज र आसपासका भेगमा १ सय ६.६ मिलिमिटर वर्षा मापन भएको महाशाखाले जनाएको छ ।

भारी वर्षाको यो मात्रा आइतबार दिउँसो (३० वैशाख)सम्मको हो ।

त्यसैगरी, नवलपुरको देउरालीमा पनि पछिल्लो २४ घन्टामा ९६.६ मिलिमिटर वर्षा भएको छ । पाल्पाको बल्याङगढीमा ८७.४ मिलिमिटर, सर्लाहीको पत्थरकोटमा ८५, पर्साको मुडलीमा ८२.२, रुपन्देहीको तिलोत्तमा पछिल्लो २४ घन्टामा ५५ मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ । निरन्तर वर्षा भएपछि रुपेन्देहीको बुटवल र आसपासका भेगका बस्तीमा डुवानको समस्या भएको छ ।

शनिबार दिउँसोदेखि सुरु भएको वर्षाको मात्रा मध्यरातिदेखि बढेको महाशाखाका अधिकारीहरू बताउँछन् । मौसमविद्हरू २४ घन्टाको अवधिमा ५० मिलिमिटरदेखि १ सय मिलिमिटर हाराहारीको वर्षालाई ‘भारी’ मान्ने गर्छन् । २ सय मिलिमिटर हाराहारी र सो भन्दा बढीको वर्षालाई ‘अतिभारी’का रूपमा बुझ्ने गरिन्छ ।

आइतबार दिउँसोबाट क्रमशः मौसम सुधार हुन थालेकाले भोलि सोमबार र पर्सी मंगलबारका लागि भारी वर्षाको मौसमी गतिविधि विकास नभएको महाशाखाका मौसमविद् सञ्जिव हुमागाईले बताए ।

आइतबार विहान सबेरैदेखि काठमाडौं उपत्यकामा हल्का र मध्यम वर्षा जारी छ । आइतबार दिनभर कोशी, मधेश, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका कतिपय भू–भागहरूमा भारी वर्षाको सम्भावना रहेको हुमागाईले बताए ।

ताजा समाचार

सम्बन्धित समाचार