Tuesday, October 22, 2024

राप्तीमा प्रजनन केन्द्रका घडियाल

३० वैशाख, चितवन
चितवन राष्ट्रिय निकुञ्जको गोही प्रजनन केन्द्रमा हुर्काइएका १ सय ५ वटा घडियाल (गोही) राप्ती नदीमा छाडिएको छ ।

प्राकृतिक वासस्थानमा बाँच्ने र हुर्कने दर कम भएकोले घडियालको संरक्षणमा सहयोग पु¥याउने उद्देश्यले प्रजनन केन्द्रमा गोही हुर्काउने गरिएको छ । केन्द्रमा हुर्काइएका गोहीलाई नदीमा छाड्ने गरिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए । विसं २०३५ सालामा स्थापना गरिएको घडियाल गोही प्रजनन केन्द्रबाट हालसम्म १ हजार ९ सय ५७ वटा गोही देशका विभिन्न नदीमा छाडिएको छ ।

हालसम्म राप्ती नदीमा १ हजार २ सय २ वटा, नारायणी नदीमा ४ सय १९ वटा, बबइमा १ सय १० वटा घडियाल छाडिएको छ । त्यसैगरी, सप्तकोशीमा १ सय १५ वटा, कालिगण्डकीमा ३५ वटा, कर्णालीमा ४१ वटा, बाँके राष्ट्रिय निकुञ्ज पश्चिम राप्ती नदीमा १० वटा र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको चौधर खोलामा २५ वटा गोही छाडिएका निकुञ्जले जनाएको छ ।

घडियाल प्रजनन केन्द्रमा हाल ६ सय २२ वटा गोही रहेका तिवारीले जानकारी दिए । अन्य नदीहरुमा गोही संरक्षण हुन नसकेपछि पछिल्ला वर्षहरूमा नारायणी र राप्ती नदीमा मात्रै गोही छाडिने गरिएको छ । अहिले राप्ती र नारायणी नदीमा ३–३ वटा भाले गोही छन् । घडीयाल प्रजनन केन्द्रमा हाल २ वटा भाले गोही छन् । प्रजनन केन्द्रमा हुर्काएर नदीमा छाडिए पनि गोहीको संख्या बढ्न सकेको छैन । मानवीय गतिविधि र नदीसँगै बगेर भारतको जलक्षेत्रमा पुगेपछि संरक्षण चुनौतीपूर्ण भएको हो ।


–रासस

ताजा समाचार

सम्बन्धित समाचार