२७ वैशाख, ललितपुर
ललितपुरको मुटु मानिने जावलाखेलमा अत्याधुनिक शौचालय निर्माण भएको छ । शौचालयमा स्नान, स्तनपानसहित महिला तथा किशोरीहरूका लागि स्यानिटरी प्याडको समेत सुविधा उपलब्ध छ ।
सेवाग्राहीलाई नुहाउन आवश्यक पर्ने साबुनलगायतका सामग्री शौचालय परिसरमै उपलब्ध हुने छ । बिहीबार (२७ वैशाखमा) ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले अपांगमैत्रीसमेत रहेको शौचालयको उद्घाटन गरे । सदर चिडियाखाना र जिल्ला प्रहरी परिसरसँगैको भेगमा बनेको शौचालयले यस क्षेत्रका आगन्तुक र पर्यटकलाई समेत सुविधा दिने मेयर महर्जनको विश्वास छ ।
यसअघि भोटो जात्रा, जावलाखेल मैदानमा हुने विभिन्न प्रदर्शनी र अन्य जमघटमा आउने आगन्तुकलाई शौचालयको भरपर्दो सुविधा थिएन । ललितपुर महानगर–४का वडाध्यक्ष सन्तोष खड्काकाअनुसार विगतमा त्यहाँ भाडामा रहेका हटरा हटाएर शौचालय बनाइएको हो । ललितपुर महानगर र खानेपानी तथा सरसफाईको क्षेत्रमा क्रियाशील एरोसान सस्टेनेबल प्रालिबिच सार्वजनिक निजी साझेदारी योजनामा यो शौचालय बनेको हो ।
एरोसानले यसअघि ललितपुरका मंगलबजार, पाटनढोकामा अध्याधुनिक शौचालय बनाएको छ । त्यसैगरी, काठमाडौंका बुद्धपार्क, त्रिपुरेश्वर, बानेश्वर, स्वयम्भुलगायत ठाउँमा पनि यस्ता शौचालय बनाएको एरोसानका प्रशासकीय अधिकृत लक्ष्मण थापाले जानकारी दिए ।