Tuesday, October 22, 2024

डढेलो लगाउने प्रहरी नियन्त्रणमा

२३ वैशाख, काठमाडौं 
वन डढेलो लगाएको आरोपमा ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । काभ्रेका विभिन्न सामुदायिक जंगलमा आगो लगाएको अभियोगमा ८० वर्षीया वृद्धासहितलाई प्रहरीले पक्राउ गरेको हो ।

मण्डनदेउपुर नगरपालिका–११ की ८० वर्षीया आइतीमाया तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनले नमोबुद्ध नपा–१ को कासकोट सामुदायिक वनमा आगो झोसेको आरोप छ । त्यसैगरी, पाँचखाल नगरपालिका–५ रातमाटे सामुदायिक वनमा आगो लगाइको आरोपमा ३१ वर्षीय मैते तामाङ, २५ वर्षीय विकास भुजेल र सविन सुनार पक्राउ परेका छन् । चौँरीदेउराली गाउँपालिका–६ को आरुबोट सामुदायिक वनमा आगो लगाएको आशंकामा सोही वडाका ४९ वर्षीय लालकुमार सेन ठकुरी पक्राउ परेका हुन् ।

उनीहरूलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको काभ्रेका प्रहरी नायब उपरीक्षक (डिएसपी) राजकुमार श्रेष्ठले जानकारी दिए । नियन्त्रणमा लिएका ५ जनामध्ये नमोबुद्ध–१ का तामाङलाई हिरासतमुक्त गरिएको र अन्यलाई मुद्दा चलाइएको उनले बताए ।

यसअघि गत साता १६ (वैशाखमा) गुल्मीको रेसुंगा नगरपालिका–७, सिस्न्यारा पातल सामुदायिक वनमा डढेलो लगाउने सोही स्थानका ३८ वर्षीय राजकुमार पन्थी क्षेत्री र ४१ वर्षीय राजु जिसी पक्राउ परेका थिए । गत ७ वैशाखमा आगो लगाएर फरार भएका उनीहरूलाई नेटा बजारबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । गुल्मीका निमित्त वन अधिकृत पंकजकुमार ठाकुरकाअनुसार उनीहरूलाई ३ वर्ष कैद र ६० हजार रूपैयाँ जरिवाना वा दुवै सजाय हुनेछ ।

त्यसअघि १० वैशाखमा म्याग्दीको बेनी नगरपालिका–६ को यमबहादुर मिजारलाई पक्राउ गरी वन कार्यालयले कानूनी प्रक्रिया अघि बढाएको छ । उनी स्थानीय अर्थुङ्गेको वनमा आगो लगाएको विशेष सूचनाका आधारमा पक्राउ परेका हुन् ।

देशका अधिकांश भेगमा वन डढेलो फैलिएपछि विभिन्न जिल्लाले यस्तो कार्यमा संलग्न व्यक्तिहरू विरुद्ध सुराकी दिनेलाई नगद पुरस्कारको घोषणा गरेका छन् । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका, नुवाकोटको विदुर नगरपालिकाले सूचना दिनेको नाम गोप्य राखी ५० हजार रूपैयाँ पुरस्कार दिने जनाएका छन् । यो महिना (१५ वैशाखयता) ५० भन्दा बढी जिल्लाका साढे ४ सय हाराहारी वनमा डढेलो लागेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अभिलेख छ ।

ताजा समाचार

सम्बन्धित समाचार