Tuesday, October 22, 2024

पहरीका परिवारलाई ५/५ लाख रूपैयाँ राहत

१९ वैशाख, ललितपुर  
डढेलो निभाउने क्रममा मृत्यु भएका आफन्तलाई गोदावरी नगरपालिकाले जनही ५ लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ । गोदावरी नगरपालिका–४ बडिखेलका शंकर पहरी र रमेश पहरीका परिवारका सदस्यलाई नगरले राहत रकम दिने भएको हो ।

नगरपालिकाले बुधबार (१९ वैशाखमा) आकस्मिक बैठकमार्फत यस्तो निर्णय गरेको सो नगरका प्रवक्ता मिलन सिल्वालले जानकारी दिए । घर नजिकैको तप्तेश्वर सामुदायिक वनमा लागेको डढेलो नियन्त्रण गर्ने क्रममा घाइते भएका पहरीद्वयको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

शंकरको मंगलबार र रमेशको आज (बुधबार) विहान निधन भएको हो । कार्यपालिकाको आकस्मिक बैठकबाट मृतकको परिवारलाई ५/५ लाख रूपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको नगरपालिकाले बुधबार शोक व्यक्त जारी गरेको छ ।

यसैबिच आगलागीको जोखिममा परेपछि गोदावरी नगरपालिका– ६ आनन्द वनस्थित कुष्ठरोग अस्पतालका ९३ जना बिरामीलाई मंगलबार बज्रबाराही अस्तालमा सारिएको छ । गत साता आंशिक रूपमा सुरु भएको डढेलो अहिले गोदावरी नगरका विभिन्न सामुदायिक वनमा फैलिएको छ ।

गोदावरी–६ टीकाभैरवको सामुदायिक वन, वडा नं ५ महादेव खोला सत्य सामुदायिक वन, वडा नं ४ बडिखेलको तपेश्वर मन्दिर वन, वडा नं ९ छेडा सामुदायिक वन, वडा नं ३ जयभद्र सामुदायिक वन, वडा नं १० चारघरे सामुदायिक वनमा डढेलो लागेको छ ।

त्यसैगरी, वडा नं. ९ ढुङ्गेनी पातले सामुदायिक वन, वडा नं २ ताप्लेछाप सामुदायिक वन, वाग्मती गाउँपालिका–५ कुँडुल्लेको सरकारी वन र महालक्ष्मी नगरपालिका–३ लुभुको पातले सामुदायिक वनमा मंगलबार रातिदेखि डढेलो लागेको जिल्ला प्रहरी कार्यालय ललितपुरका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीले जानकारी दिए ।

नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र ललितपुरस्थित जुद्ध बारुण केन्द्रका अग्नी नियन्त्रक ललितपुर महानगरको दमकलसहित खटेका छन् । तर, डढेलो नियन्त्रणमा आउन नसकेको सुवेदीले बताए ।

ताजा समाचार

सम्बन्धित समाचार