
काठमाडौं–आरोही कामीरीता शेर्पाले २२औं पटक सर्वाेच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन्।
४८ वर्षीय शेर्पाले यसअघि २१ अौं पटक आरोहणको आफ्नै कीर्तिमान तोड्दै विश्व कीर्तिमान कायम गरेका हुन्।
सोलुखुम्बुको पासाङल्हामु गाउँपालिका– ५, थामे का कामीरीताले बुधबार बिहान ८ बजेर ३० मिनेटमा सगरमाथाको सफल आरोहण गरेका हुन्।
यसअघि अहिले २१ पटक सगरमाथाको सफल आरोहण गरेको कीर्तिमान कामीरीता र अन्य दुई नेपाली आरोहीले संयुक्त रूपमा राखेका थिए।
अमेरिकामा मुख्यालय रहेको एउटा पर्वतारोहण दलसँग सम्बन्धित कम्पनीमा पथप्रदर्शकका रूपमा कार्यरत उनले पछिल्लो पटक सन् २०१७ मे महिनामा सगरमाथाको शिखर चुमेका थिए। कामीरीताले सन् १९९४ मा पहिलो पटक सगरमाथामा पाइला टेकेका थिए।
यस वर्षको वसन्त ऋतुमा उनीसहित ६० भन्दा बढी आरोहीले सगरमाथा आरोहण गरेको बेस क्याम्पस्थित सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए।
मंगलबार मौसमी खराबीका कारण आरोहण हुनसकेको थिएन। अहिले अनुकूल मौसमका लागि धेरै आरोही प्रतिक्षामा छन्।