Wednesday, November 27, 2024

डढेलो नियन्त्रण गर्दा पहरीको निधन

१८ वैशाख, काठमाडौं
वन डढेलो नियन्त्रण गर्ने क्रममा घाइते भएका ललितपुरका शंकर पहरीको निधन भएको छ । गोदावरी नगरपालिका–४ बडिखेलका स्थानीय उनको उपचारका क्रममा निधन भएको हो ।

उनी घर नजिकैको तपेश्वर सामुदायिक वनमा डढेलो निभाउने क्रममा घाइते भएका थिए । पहरीको उपचारका क्रममा कीर्तिपुरस्थित बर्न अस्पतालमा मृत्यु भएको ललितपुरका प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीले जानकारी दिए । मंगलबार दिउँसो (१८ वैशाखमा) डढेलो निभाउने क्रममा शंकर र अर्का स्थानीय रमेश पहरी घाइते भएका थिए ।

यसैबिच ललितपुरको गोदावरी र आसपासका वनमा मंगलबार अबेरसम्म आगलागी भएको छ । आगलागीको जोखिममा परेपछि गोदावरी नगरपालिका– ६ आनन्द वनस्थित कुष्ठरोग अस्पतालका बिरामी अन्यत्र सारिएको छ । सो अस्पतालका ९३ जना विरामीलाई अन्यत्र सारिएको ललितपुर प्रहरीले जनाएको छ ।

गोदावरी र आसपासका भेगमा आगलागीको जोखिम बढेपछि ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठ, जिल्ला प्रहरी प्रमुख शेखर खनाल, सेना, सशस्त्र र प्रहरीको टोली दमकलसहित प्रभावित क्षेत्रमा खटिएको थियो । लेले क्षेत्रका वनमा गत सातादेखि डढेलो लागेको हो । मंगलबार एकै दिन गोदावरी नगर क्षेत्रका धेरै वनमा डढेलो फैलिएको डिभिजन वन कार्यालय ललितपुरले जनाएको छ । साँझसम्ममा आनन्द वन अस्पताल डढेलो जोखिम मुक्त भए पनि फुलचोकी र आसपासका भेगमा फैलिएको आगो नियन्त्रणमा आउन नसकेको वन कार्यालयका एक अधिकारीले बताए ।

ताजा समाचार

सम्बन्धित समाचार