१५ वैशाख, काठमाडौं
गत सातादेखि बढेको तातोे हावा (लु) लहर अझै कायमै रहने भएको छ । तराई प्रदेश, मध्य र पश्चिम तराईमा गर्मीको मात्रा बढ्ने जल तथा मौसम विज्ञान विभागको प्रक्षेषण छ ।
तत्काल वर्षाको सम्भावना नरहेकाले तराईमा अत्यधिक गर्मी बढ्ने विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो । तराईका अतिरिक्त पहाडका उपत्यका र खोँचहरूमा समेत तापक्रम वृद्धि हुने भन्दै महाशाखाले शनिबार (१५ वैशाखमा) विशेष बुटेलिन जारी गरेको हो ।
आइतबार देखि (१६देखि २० वैशाखसम्म) ५ दिनसम्म तराईमा तातो हावा चल्ने बताउँदै महाशाखाले बुलेटिनमा भनेको छ, ‘५ दिन तातो हावा र तातो लहरको सम्भावना रहेकाले सोको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध छ ।’ महाशाखाले ५ दिन अघि पनि (१० वैैशाखमा) यस्तै प्रकृतिको विशेष बुलेटिन जारी गरेको थियो ।
एक सातायता मध्य र पश्चिम तराईका धेरै भेगको तापक्रम ४० डिग्री र सो भन्दा माथि पुग्न थालेको छ । लगातार ३ दिन वा सो भन्दा बढी अवधिसम्म असामान्य रूपमा तापक्रम बढेपछि ‘लु’ भन्ने गरिन्छ । नेपालको सन्दर्भमा ३ दिन भन्दा बढी ४० डिग्री र सो भन्दा माथि तापक्रम कायम भएमा ‘लु’का रूपमा बुझ्ने गरिन्छ । एक सातायता तापक्रम निरन्तर ४० डिग्री हाराहारी रहेका भेगहरूमा विभागले अझै ‘लु’ घोषणा गरेको छैन ।





