Tuesday, October 22, 2024

त्रिविमा माटो परीक्षण तालिम

१३ वैशाख, काठमाडौं

त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले माटोको नियमित परीक्षण र प्रयोगशाला गुणस्तर व्यवस्थापन तथा क्षमता विकास तालिम आयोजना गरेको छ ।

सम्बन्धी एकहप्ते प्रशिक्षणमा विभागका स्नातकोत्तर र विद्यावारिधिका विद्यार्थी, अनुसन्धानकर्ता र विभागमा कार्यरत शिक्षकसहित २० जना सहभागी छन् । तालिममा माटोको परीक्षण गर्ने सीपको विकास गरी सहभागीलाई माटोसम्बन्धी अनुसन्धान गर्ने विधिबारे अभ्यस्त पार्ने उद्देश्य छ ।

तालिमको उद्घाटन गर्दै त्रिविका रजिष्ट्रार प्राडा केदारप्रसाद रिजालले देशका लागि अनुकरणीय व्यक्तित्वहरू विकास गरेको भूगोल विषयको गरिमालाई थप बढाउनुपर्ने आवश्यकता रहेको बताए । कार्यक्रममा विश्वविद्यालय क्याम्पसका प्रिन्सिपल प्राडा ध्यानेन्द्रबहादुर राईले सहभागीहरुको सक्रियताबाट मात्रै तालिमबाट उपलब्धि हासिल हुन सक्ने भन्दै प्रविधिको अधिकतम प्रयोगमार्फत तालिमलाई व्यवस्थित बनाउनुपर्ने धारणा राखे ।

सन् २०१४ मा चाइनिज एकेडेमी अफ साइन्सेसको सहयोगमा ‘साइनो नेपाल जोइन्ट रिसर्च सेन्टर फर जियोग्राफी’ परियोजना अन्तर्गत प्रयोगशाला निर्माण भएको हो । प्रयोगशालामा विभागले पहिलोपटक माटो परीक्षणसम्बन्धी क्षमता विकास तालिम अयोजना गरेको त्रिवि भूगोल प्रमुख प्राडा उमेशकुमार मण्डलले जानकारी दिए ।

माटो विज्ञ सन्तोषकुमार श्रेष्ठ र बायोमेडिकल इन्जिनियर प्रन्जल पाण्डे तालिममा विज्ञका रूपमा सहभागी छन् । तालिममा माटोको पिएच मान, टेक्स्चर, पोटासियम फोस्फेरस, नाइट्रोजन, अर्गानिक म्याटर लगायतका १६ विविध पक्षहरूको परीक्षण गर्ने विधिमा केन्द्रित रहने भूगोल विभागले जनाएको छ ।

–रासस

ताजा समाचार

सम्बन्धित समाचार