Tuesday, October 22, 2024

शुक्लाफाँटामा बढे बाघ

११ वैशाख, कञ्चनपुर

महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघको संख्या बढेको छ । १० वर्षअघि १३ वटा बाघ रहेकामा अहिले संख्या बढेर ४४ पुगेको छ ।

निकुञ्जका अनुसार सन् २०१८ मा १६, २०२१ मा १९ वटा बाघ थिए भने २०२२ मा त्यो बढेर ३६ पुगेको थियो । निकुञ्जमा क्यामेरा ट्रयापिङ विधिबाट गरिएको गणनाअनुसार २४ वटा भाले र १७ वटा पोथी तथा विश्लेषणका आधारमा थप ३ गरेर बाघको संख्या ४४ पुगेको हो ।

गत मङ्सिरदेखि ९१ वटा क्यामेरा ट्रयापिङबाट गरिएको अनुगमनमा बाघको संख्या बढेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले जानकारी दिए । ‘यहाँ बाघका लागि खाना र बासस्थानको राम्रो वातावरण भएकाले थोरै क्षेत्रफलमा पनि धेरै बाघ छन्, भट्टराईले भने, ‘यहाँ चोरीसिकारी पनि छैन त्यसकारण बाघको संख्या बढ्दै गएको छ ।’

शुक्लाफाँटाभित्र ठूलो घाँसेमैदान, चौधर नदी, रानीताल र सिकारी तालजस्ता तालतलैया र प्रशस्त आहाराका लागि प्रजाति बढेसँगै बाघको संख्या पनि बढेको उनले बताए । शुक्लाफाँटा निकुञ्ज पर्यटनको प्रमुख केन्द्र बन्नसक्ने भए पनि पर्याप्त प्रचार–प्रसार नहुँदा यसबाट लाभ लिन नसकिएको यहाँका पर्यटन व्यवसायी जगदीश भट्ट बताउँछन् ।

उनले भने, ‘शुक्लाफाँटा पाटेबाघका लागि प्रख्यात छ तर यहाँ बाह्य पर्यटक आएका छैनन् ।’ कञ्चनपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दिनेश मल्लले शुक्लाफाँटा पर्यटकका लागि उपयुक्त गन्तव्य भएकाले यसको प्रचारप्रसार गर्नसके यहाँको आर्थिक विकासमा टेवा पुग्ने बताउँछन् । शुक्लाफाँटामा पाटेबाघ, बाह्रसिङ्गे र गैंडालगायतका दुर्लभ वन्यजन्तुका लागि प्रसिद्ध भए पनि प्रचारप्रसारको अभावमा पर्यटक आगमनमा वृद्धि नभएको यहाँका पर्यटन व्यवसायी बताउँछन् ।


रासस

ताजा समाचार

सम्बन्धित समाचार