Tuesday, October 22, 2024

अबका केही दिन गर्मी अझै चर्किने

१० वैशाख, काठमाडौं
केही दिनयता तराइमा बढेको गर्मी अझै चर्किने भएको छ । तत्काल वर्षाको सम्भावना नरहेकाले आगामी सातासम्म तातो हावा र ‘लु’को असर बढ्ने भएको हो ।

अबका केही दिन तातो दिन तथा तातो लहरको असर रहने बताउँदै जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले सोमबार (१० वैशाखमा) विशेष बुटेलिन जारी गरेको छ । खासगरी तराईमा यस्तो असर हुने बताउँदै महाशाखाले भनेको छ, ‘आगामी ५ दिन तातो हावा र तातो दिन (हिट वेव)को सम्भावना रहेको हुनाले सोको असरबाट बच्न आवश्यक सतर्कता अपाउन अनुरोध छ ।’

पहाडी भू–भागका उपत्यका र खोंचहरूमा पनि गर्मीको मात्रा बढ्ने महाशाखाको प्रक्षेपण छ । एक सातायता मध्य र पश्चिम तराईको तापक्रम ४० डिग्री र सो भन्दा माथि मापन हुन थालेको छ । गत शनिबार (८ वैशाखमा) भैरहवामा ४३.६, नेपालगञ्जमा ४२.२ र धनगढीमा ४१.२ डिग्री मापन भएको तापमक्रम त्यसयता खस्किएको छैन । जनकपुर, सिमरा, दाङ, कपिलवस्तु र आसपासका भेगको तापक्रम (औसतमा) ३८ डिग्री हाराहारी छ ।

सामान्यतया लगातार ३ दिन वा सो भन्दा बढी अवधि असामान्य रूपमा तापक्रम बढेपछि ‘लु’ भन्ने गरिन्छ । नेपालको सन्दर्भमा ३ दिन भन्दा बढी ४० डिग्री र सो भन्दा माथि तापक्रम कायम भएमा ‘लु’का रूपमा बुझ्ने गरिन्छ । महाशाखाले अझै ‘लु’ घोषणा गरिसकेको छैन ।

मौसमविद् मीनकुमार अर्याल भन्छन्, ‘धेरै ठाउँमा गर्मी बढेको छ, तर लु नै भन्ने अवस्था होइन ।’ तातो हावा चल्दैमा, गर्मी बढ्दैमा लु भनेर व्याख्या गर्न हतार हुने उनको भनाइ छ । नेपालका अन्य भेगको तुलनामा मधेश प्रदेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा तातो हावा र तातो लहरको असर रहने अर्यालले जानकारी दिए ।

प्राय गर्मी यामका वैशाख/जेठमा पूर्वी तराई, मधेश प्रदेशका प्राय सबै जिल्ला, चितवन, नवलपरासीदेखि पश्चिम तराईका जिल्लाहरूको तापक्रम ४० डिग्री र सो भन्दा बढी पुग्न थालेको छ । गत वर्ष वैशाख पहिलो सातादेखि असार दोस्रो सातासम्म विभिन्न मितिमा यी भेगहरूमा लु को असर थियो ।

ताजा समाचार

सम्बन्धित समाचार