Tuesday, October 22, 2024

७ वटा नदीमा तटबन्ध निर्माण सुरु

८ वैशाख, कैलाली  
जिल्लाका विभिन्न भाग भएर बग्ने ७ वटा नदीमा तटबन्ध निर्माण सुरु भएको छ । कटैनी गौरीगङ्गा, शिवगङ्गा, घुराहा, कान्द्रा, काँडा र ठूलीगाडमा तटबन्धको काम सुरु भएको हो ।

प्रदेश सरकारले चालु आर्थिक वर्षमा नदी कटान नियन्त्रण तथा रोकथाम गर्न १७ करोड ६ लाख रूपैयाँ बजेट विनियोजन गरेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले जनाएको छ । गौरीगङ्गा नगरपालिकास्थित कटैनी नदीमा २ सय ८०, गौरीगङ्गा २ सय ३०, शिवगङ्गा १ सय ६५ र कैलालीको घुराहा नदीमा १ सय ५० गरी ८ सय २५ मिटर तटबन्धका लागि ३ करोड रूपैयाँको ठेक्का सम्झौता भएको छ ।

बर्दगोरिगा गाउँपालिकाको काँडानदीमा तटबन्ध निर्माणका लागि ५ करोडको ठेक्का सम्झौता भई धमाधम काम भइरहेको डिभिजन प्रमुख अमरबहादुर पालले बताए । कान्द्रा नदीमा तटबन्ध निर्माणका लागि ९ करोडको ठेक्का सम्झौता भई काम सुरु भएको छ । घोडाघोडी नगरपालिका–१० कठैया, ११ मग्रहवा र १२ को अम्बारीमा एक किलोमिटर १६ मिटर तटबन्ध निर्माणका काम सुरु भएको डिभिजन प्रमुख पालले बताए ।

त्यसैगरी मोहन्याल गाउँपालिका–४ खिमडीस्थित ठूलीगाडमा ७ सय ५६ मिटर तटबन्ध निर्माणका लागि ४ करोडमा ठेक्का सम्झौता भएको छ । डिभिजन कार्यालयका प्रमुख पालले ९ महिनाभित्र तटबन्धको काम सम्पन्न गर्नेगरी ठेक्का सम्झौता भएको बताए ।

रासस

ताजा समाचार

सम्बन्धित समाचार