Wednesday, November 27, 2024

विश्वमै दुर्लभ हिउँ चितुवाको संख्या डोल्पामा उत्साहजनक

७ वैशाख, डोल्पा 
विश्वमै दुर्लभ हिउँ चितुवाको संख्या डोल्पामा राम्रो पाइएको छ । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज र संरक्षित क्षेत्र बाहिर (राष्ट्रिय र सामुदायिक वनमा) नेपालमै सबैभन्दा धेरै १ सय २० वटा हिउँ चितुवा भेटिएका छन् ।

यो वयस्क हिउँ चितुवाको संख्या हो । एक वर्ष लामो अनुगमन तथा क्यामेरा ट्रयापमा यस्तो संख्या पाइएको हो । ६६ वटा क्यामेरा ट्रयाप स्टेसनमा १ सय २० भन्दा बढी क्यामेराको प्रयोग गरी हिउँ चितुवाको अनुगमन भएको शे–फोक्सुण्डो निकुञ्ज कार्यालयले जनाएको छ ।

वन्यजन्तुको अनुगमन तथा गणनाका लागि कम्तिमा ४५ दिन अनुगमनस्थलमै क्यामेरा राख्नुपर्नेमा डोल्पामा ६ महिना बढी क्यामेरा प्रयोग भएको थियो । गत वर्षको वैशाख अन्तिम साता राखिएका क्यामेराको तथ्यांक, फोटो लगायतका विवरण संकलन गर्न ५ देखि ६ महिना लागेको निकुञ्जले जनाएको छ । ४३ जना प्राविधिक तथा स्थानीय कार्यक्षेत्रमा खटेका थिए ।

तुलनात्मक रूपमा निकुञ्जको उत्तरी क्षेत्र (तिब्बतसँग सीमा जोडिएका क्षेत्रमा) हिउँ चितुवाको संख्या राम्रो रहेको शुक्रबार (७ वैशाखमा) सदरमुकाम दुनैमा आयोजित पत्रकार सम्मेलनमा डिभिजन वन अधिकृत मुनबहादुर रावतले जानकारी दिए । उनले भने, ‘संरक्षित क्षेत्र र निकुञ्ज बाहिर मात्रै ३० वटा हिउँ चितुवा भेटिएका छन्, यो निकै उत्साहजनक खबर हो ।’

माथिल्लो डोल्पासँग मुस्ताङसँग सीमा जोडिएको क्षेत्रमा पनि यसको संख्या सन्तोषजनक रहेको अध्ययनमा संलग्न विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपालका अनुसन्धान तथा फिल्ड कार्यक्रम अधिकृत चन्द्रजंग हमालले बताए । उनकाअनुसार निकुञ्ज क्षेत्र बाहिरका डोल्पोबुद्ध, काइके र छार्काताङ्सोङ् गाउँपालिकाको वन क्षेत्रमा प्रति १ सय वर्ग किलोमिटर क्षेत्रफलमा हिउँ चितुवाको घनत्व १.५ छ ।

यो जन्तुको अध्ययन अवलोकनका लागि डब्लुडब्लुएफ नेपालले आर्थिक र प्राविधिक सहयोग उपलब्ध गराएको हो ।यसअघि निकुञ्ज क्षेत्रभित्रको सर्वेक्षणमा ९० वटा हिउँ चितुवा पाइएका थिए । निकुञ्जले गरेको सर्वेक्षणमा ८० लाख र डिभिजन वन कार्यालयको भएको सर्वेक्षणमा ४८ लाख रूपैयाँ खर्च भएको छ ।

एउटा हिउँ चितुवा बराबर ४० वटा नाउरको सिकार हुने वन्यजन्तु विज्ञहरूको ठहर छ । शे–फोक्सुण्डोमा ४ हजार भन्दा बढी बढी नाउर रहेको बताइएको छ । प्रति १ सय वर्गकिलोमिटरमा २.२ हिउँ चितुवा संख्या रहेको निकुञ्जले जनाएको छ ।

नाउरसँगै घरपालुवा जनावरको शिकार गर्ने भएकाले डोल्पामा यो जन्तुको संख्या बढेको विज्ञहरूको बुझाइ छ । घरपालुवा जनावरको बीमा गरिएकाले किसानले क्षतिपूर्र्ति रकम पाउने गरेका छन् ।

विश्वमा नेपालसहित विभिन्न १२ देशमा मात्रै हिउँ चितुवाको उपस्थिति पाइएको छ । नेपाल अफगानिस्तान, भुटान चीन, भारत, काजाकिस्तान, किर्गिस्तान, मंगोलिया, पाकिस्तान, रुस, ताजाकिस्तान, उज्वेकिस्तानका उच्च भेगमा यो जन्तु अभिलेख छ । डोल्पाका अतिरिक्त नेपालमा कञ्चनजंघा संरक्षित क्षेत्र, मकालु, अन्नपूर्ण, मनास्लु संरक्षित क्षेत्र लगायतका भेगमा यसको उपस्थिति पाइएको छ ।

नेपालभर हिउँ चितुवाको संख्या ३ सयदेखि साढे ५ सय हाराहारी रहेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार