Tuesday, October 22, 2024

आइएफएमा २ वर्षपछि कार्यकारी निर्देशक

६ वैशाख, काठमाडौं  
पद रिक्त भएको २ वर्षपछि परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान (आइएफए)ले प्रमुख कार्यकारी निर्देशक पाएको छ ।

पूर्व राजदूत एवं परराष्ट्र मन्त्रालयका पूर्व सह–सचिव प्रकाशकुमार सुवेदी प्रमुख कार्यकारी नियुक्त भएका हुन् । सुवेदी अस्ट्रियाका लागि पूर्व राजदूत हुन् ।

प्रतिष्ठान परराष्ट्र मन्त्रालय मातहतको अर्ध सरकारी निकाय हो । नवनियुक्त राजदूत, महावाणिज्यदूत, परराष्ट्र सेवाका कर्मचारीलाई अनुशिक्षण तथा सेवाकालीन तालिम प्रदान गर्दै आएको प्रतिष्ठानले परराष्ट्र नीति, आर्थिक, श्रम कूटनीति, भूराजनीतिका विषयमा अन्तक्र्रिया र छलफल गर्दै आएको छ ।

कूटनीतिक क्षेत्रको यो ‘थिंक–ट्यांक’ले केही वर्षयता जलवायु कूटनीतिलाई पनि प्राथमिकता लिँदै विषयविज्ञ र सरोकारवालाका लेख रचना समेटेर जर्नल प्रकाशित गर्दै आएको छ । आफ्ना अध्ययन अनुसन्धानको निचोड विभागीय मन्त्रालय र अन्य सरोकारवाला निकायलाई पेश गर्दै आएको प्रतिष्ठान २०५४ मा स्थापना भएको हो ।

५ वर्ष हाराहारी सहसचिव सरहको जिम्मेवारी सम्हालेका व्यक्ति प्रतिष्ठानको नेतृत्वमा रहने गर्छन् । नवनियक्त कार्यकारी निर्देशक सुवेदीको कार्य अवधि आगामी ३ वर्षका लागि हो । यसअघि प्रतिष्ठानको नेतृत्वमा रहेका राजेश श्रेष्ठको कार्यअवधि ७ वैशाख, २०७९ मा सकिएको थियो ।

सशस्त्र प्रहरी बलका पूर्वअतिरिक्त महानिरीक्षक श्रेष्ठलाई २०७६ चैत अन्तिम साताको मन्त्रिपरिषद् बैठकले सो जिम्मेवारीमा नियुक्त गरेको थियो । ३ दशक बढी परराष्ट्र सेवामा विताएका सुवेदीले मंगलबार (४ वैशाख) देखि जिम्मेवारी सम्हालेका प्रतिष्ठानका सूचना अधिकारी सानुराजा पुरीले जानकारी दिए ।

कार्यकारी निर्देशक नियुक्तिका लागि गठित छनोट तथा सिफारिस समितिले पदपूर्तिका लागि गत १७ पुस र २१ माघसहित २ पटक आवेदन खुलाएको थियो । समितिले विभिन्न चरणबाट सफल भएका सुवेदीलाई कार्यकारी निर्देशकको पदमा नियुक्तिका लागि सिफारिस गरेको थियो ।

परराष्ट्रले कार्यकारी निर्देशकका लागि ६५ वर्ष उमेर भन्दा मुनीका, कम्तीमा स्नातकोत्तर उत्तिर्ण, अन्तर्राष्ट्रिय कानुन, कूटनीति वा आर्थिक कूटनीतिक क्षेत्रमा कम्तीमा १० वर्ष काम गरेको, नेपालको परराष्ट्र नीति तथा मामिलामा विशेष योगदान दिएको र उच्च व्यवस्थापकीय पदमा कम्तीमा ५ वर्षको कार्य अनुभवको मापदण्ड तोकेको थियो ।

कार्यकारी निर्देशक नियुक्ती विलम्ब हुँदा प्रतिष्ठानकै उपकार्यकारी निर्देशक राजेन्द्र पाण्डे निमित्त कार्यकारी प्रमुख थिए । पाण्डेको कार्यकाल गत ११ फागुनदेखि सकिएको छ । उनी परराष्ट्र मन्त्रालयका पूर्वउपसचिव हुन् ।

ताजा समाचार

सम्बन्धित समाचार