Wednesday, October 23, 2024

हात्तीलाई गोली हानेर मारेको पुष्टि

६ वैशाख, झापा 
झापाको मेचीनगरमा मृत भेटिएको वयस्क हात्तीलाई गोली हानेर मारिएको पुष्टि भएको छ । ३ राउन्ड गोली हानेपछि हात्ती मरेको डिभिजन वन कार्यालयले जनाएको छ ।

पोस्टमार्टम गर्दा यस्तो तथ्य भेटिएको डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले जानकारी दिए । उनकाअनुसार हात्तीको कानको छेउमा गोली प्रहार भएको छ । अन्य भागमा गोली नछिर्ने भएकाले शिकारीहरूले योजनाबद्ध तरिकाले हात्ती मारेका राईले बताए ।

कोशी टप्पु वन्यजन्तु आरक्षका वन्यजन्तु प्राविधिकले हात्तीको पोस्टमाटम गरेका हुन् । मेचीनगर–१२ स्थित कालिका सामुदायिक वनको सिमसार क्षेत्रमा मंगलबार अपराह् (४ वैशाखमा) करिव ४५ वर्षको भाले हात्ती मृत भेटिएको थियो । तस्करहरूले हात्तीको दाह्रा र रौं काटेर लगेका छन् ।

झापामा गत वर्ष ४ वटा हात्ती मृत फेला परेका थिए । ४ वटै हात्तीको मृत्युको घटनामा विद्युतीय धराप प्रयोग भएको पाइएको थियो । २०६२ यता झापाका विभिन्न भेगमा २० वटा हात्ती मृत भेटिएका छन् । तर, गोली प्रहार गरी दाह्रा र रौं चोरी भएको झापाका लागि यो पहिलो घटना भएको डिभिजन वनको भनाइ छ ।

ताजा समाचार

सम्बन्धित समाचार