Monday, May 20, 2024

उपत्यकाको वायु घातक तह नजिक

४ वैशाख, काठमाडौं 
गत साताको वर्षाले काठमाडौं उपत्यकामा प्रदूषणको अवस्था आंशिक सुधार भइरहेका बेला पुनः काठमाडौंसहित धेरै ठाउँको वायु मानव स्वास्थ्यका दृष्टिले घातक तह नजिक पुगेको छ ।

ललितपुरको भैंसेपाटी, खुमलटार, काठमाडौंको शंखपार्क, रत्नपार्कसहित उपत्यका तीनै जिल्लामा वायु गुणस्तर सूचकाङ्क ‘एयर क्वालिटी इन्डेक्स’ (एक्यूआई) जोखिम तहमा पुगेको हो । २४ घन्टा र प्रत्येक घन्टाको वायुमा विषाक्त कणको मात्रा उच्च छ । विगत २४ घन्टा र हरेक घन्टाको अनुगमनमा उपत्यकासहित भरतपुर, मुगु (रारा ताल), धनकुटा, पोखरा, महेन्द्रनगर लगायतका भेगको वायु गुणस्तर मानव जोखिम निकट रहेको वातावरण विभागले जनाएको छ ।

मानव स्वास्थ्यका लागि एक्यूआई ५० सम्मलाई उत्तम, ५० देखि १०० लाई सामान्य, १०० देखि २०० लाई मध्यम मान्ने गरिएकोमा केही दिनयता वायु गुणस्तरमा उतारचढाव आइरहेको विभागका एक अधिकारीले बताए । एक्यूआई २०० भन्दा माथि पुगेपछि निकै जोखिम मानिन्छ । ‘हरेक घन्टा जोखिमको तहमा नरहे पनि वायु गुणस्तर खस्किएको सत्य हो, तुलनात्मक रूपमा विहान बेलुकाको अवस्था सन्तोषजनक छैन’, ती अधिकारीले हाकाहाकीसँग भने ।

लगातारको धुलोधुँवा र तराई लगायतका भेगमा लागेको वन डढेलोका कारण काठमाडौं उपत्यकासहितका भेगहरूमा प्रदूषणको दर उच्च तहमा पुगेको हो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकाअनुसार चैत महिनायता औसतमा दैनिक ३ सय भन्दा बढी साना ठुला डढेलोका घटना दोहोरिने गरेका छन् ।

मंगलबार साँझ (२४ घन्टाको अवधिमा) भरतपुरको एक्यूआई १९२, खुमलटारको १७१, रत्नपार्कको १६७, कीर्तिपुरको १६२, भक्तपुरको १६१, राराको १५८, भैंसेपाटीको १३४, धनकुटाको १२६, पोखराको ११४ र पुल्चोकको १०८ कायम भएको विभागको अभिलेख छ । विभागले २४ घन्टाको अवस्था विश्लेषण गरेर एक्यूआईको औसत मात्रा तय गर्दै आएको छ ।

तुलनात्मक रूपमा अघिपछि पनि भैंसेपाटी, खुमलटार र आसपासका भेगमा प्रदूषण बढी हुने बताउँदै विभागका अधिकारीहरू भन्छन्, ‘उपत्यकामा पश्चिमी वायु भित्रिने नाकाहरूमध्ये भैंसेपाटीबाट स्वच्छ वायुसँगै प्रदूषित वायु पनि भित्रिने भएकाले प्रदूषण बढी देखिने गर्छ ।’

नेपालको राष्ट्रिय मापदण्डअनुसार २४ घन्टामा सूक्ष्म धुवाँ र धुलोको कण पार्टिकुलेट म्याटर (पीएम २.५) को मात्रा ४० माइक्रोग्राम प्रतिघनमिटर हो । वायु गुणस्तर परीक्षण र विश्लेषणका लागि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले भने वायुमण्डलमा प्रदूषित सूक्ष्म कणको मात्रा घटाएर (२४ घण्टामा) ५ माइक्रोग्राम प्रतिघनमिटर कायम गरेको छ ।

डब्लूएचओले १५ वर्ष पुरानो मापदण्ड हेरफेर गर्दै २ वर्षअघि पीएम २.५को मात्रा घटाएको थियो । त्यसअघि डब्लूएचओले २.५ को मात्रा प्रतिघनमिटर १० माइक्रोग्रामलाई आधार मान्ने गरेको थियो । पीएम धुलो र धुवाँको सूक्ष्म कणको मात्रा मापन गर्ने आधार हो ।

डब्लूएचओकाअनुसार हरेक वर्ष विश्वमा ७० लाख हाराहारी व्यक्तिको मृत्यु वायु प्रदूषणले हुने गर्छ । ३ वर्ष (सन् २०२१मा) अघि सार्वजनिक भएको सो संस्थाको प्रतिवेदनले वायु गुणस्तर खस्काउने धेरै कारक तत्वमध्ये जलवायु परिवर्तनलाई मुख्य कारण औल्याएको छ ।

हिउँद र प्रि–मनसुनका बेला काठमाडौं उपत्यकामा पीएम २.५ को मात्रा २४ घन्टामा २०० घनमिटर माथि पुग्ने गर्छ । वायु प्रदूषणले स्ट्रोक, मुटु रोग, फोक्सोको क्यान्सरजस्ता समस्या निम्त्याउने गर्छ । डढेको असरका अतिरिक्त नेपालमा पश्चिमी वायुसँगै भित्रिने प्रदूषित वायु, सवारीसाधन, उद्योग, कलकारखानाले फाल्ने धुवाँ, धुलोसँगै खेतबारी र खुला स्थानमा जलाइने विभिन्न प्रकारका फोहोरको धुवाँले वायु गुणस्तर खस्किने विज्ञहरू बताउँछन् ।

वायु गुणस्तरबारे विश्वव्यापी अनुगमन गर्ने स्विस कम्पनी आइक्युएयरलगायत संघ/संस्थाले काठमाडौं उपत्यकासहित विश्वका प्रदूषित सहरको सूची अनुगमन तथा अद्यावधिक गर्दै आएका छन् । आइक्युको अनुगमनअनुसार केही सातायता काठमाडौं उपत्यका विश्वका उच्च प्रदूषित सहरमा सूचीकृत हुँदै आएको छ ।

मंगलबार विहान (४ वैशाखमा) विश्वकै सबैभन्दा धेरै प्रदूषित सहरको दोस्रो सूचीमा रहेको काठमाडौं अपराह् पहिलो सूचीमा उक्लिएको छ । मंगलबार विहान उपत्यकाको एक्यूआई १७७ रहेकोमा अपराह् अवस्था केही सुधार भए पनि विश्वको प्रदूषित सहरको पहिलो सूचीमा रहेको थियो । मंगलबार विहान विश्वकै सबैभन्दा बढी प्रदूषित सहर भारतको दिल्ली थियो । आइक्युएयरको अनुगमनमा दिल्लीको एक्युआई १९७ थियो ।

मंगलबार साँझ काठमाडौंको एक्युआई १६५ हुँदा सेनेगल (डाकार)को १५६, भारतको (कलकत्ता)को १४६, म्यानमारको १४१, बंगलादेश (ढाका)को १३८, दक्षिण कोरिया (इन्चोन) को १२७, चीन (हाङजाओ)को १२६ र दक्षिण कोरिया (सियोल)को १२३ पुगेको थियो ।

तत्काल ठुलो वर्षाको सम्भावना नरहेकाले वायु गुणस्तर केही दिन अझै खस्किने छ । विज्ञहरू वर्षा नभएसम्म वायु गुणस्तर सुधार नहुने तर्क गर्छन् । जल तथा मौसम विज्ञानको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेकाअनुसार कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भेगहरूमा मध्यम र हल्का वर्षाको गतिविधि आज (मंगलबार) देखि सुरु भएको छ ।

निरन्तर ठुलो वर्षाको सम्भावना भने नरहेको बताउँदै उनले भने, ‘अझै २/४ दिन सबैतिर पानी पर्ने लक्षण छैन, पश्चिमी वायु केही सक्रिय छ तर अहिलेको वायुको अवस्था तत्कालै आकाश सफा हुने गरिको छैन ।’

ताजा समाचार

सम्बन्धित समाचार

वातावरण पत्रकारिता पुरस्कारका लागि आह्वान