३ वैशाख, काठमाडौं
आगामी जेठमा पर्वत र जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (संवाद) हुने भएको छ ।
पर्वतीय क्षेत्रको मुद्दामा सबै पर्वतीय राष्ट्रहरुको समान धारणा तय गरी आगामी दिनमा सोसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहललाई प्रभावकारी बनाउन नेपालले पहिलो पटक यस्तो जमघट तय गरेको हो । आगामी ९ र १० जेठका लागि तय भएको सम्मेलन काठमाडौंमा आयोजना हुने छ ।
यो जमघमा नेपालजस्ता पर्वतीय मुलुकका विज्ञ, सरोकारवाला र संरक्षण क्षेत्रमा क्रियाशील राष्ट्रिय अन्तर्राष्ट्रिय संघ/संस्थाका प्रतिनिधि सहभागी हुने वन तथा वातावरण मन्त्रालयले जनाएको छ । संवादको नारा ‘पर्वत, मानव र जलवायु परिवर्तनमा अन्तर्राष्ट्रिय संवाद’ तय गरिएको छ । पर्वतीय मुलुकका सबै देशहरूलाई निमन्त्रणा पठाइने बताउँदै वन मन्त्रालयका एक अधिकारीले भने, ‘सहभागीको संख्या केही साताभित्रै टुंगो लाग्छ ।’
गत वर्ष संयुक्त अरब इमिरेट्स (यूएई)को दुबई सहरमा भएको जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२८)ले पहिलो पटक पर्वतीय क्षेत्रको जलवायु संकटलाई सम्बोधन गर्ने ऐक्यवद्धता जनाएको थियो । आगामी वर्षहरूमा पर्वतीय मुद्दाहरू अन्तर्राष्ट्रिय जमघटका मुख्य प्राथमिकतमा पर्ने निधो हुँदै गर्दा नेपालले पर्वतीय विषय केन्द्रित संवाद तय गरेको हो ।
नेपालमा मुख्यालय रहेको अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) लगायतका संघ संस्थाले विगतदेखि नै पर्वतीय एजेण्डालाई प्राथमिकता राख्दै अन्तर्राष्ट्रिय सभा, सम्मेलन गर्दै सदस्य राष्ट्रहरू बीच आपसी ज्ञान तथा अनुभव आदान प्रदान गर्दै आएका छन् ।