Thursday, September 19, 2024

चट्याङ लागेर २ जनाको मृत्यु

२ वैशाख, पर्वत   
मोदी गाउँपालिकाका दुई छुट्टाछुट्टै स्थानमा चट्याङ लागेर २ जनाको मृत्यु भएको छ । मोदी–१ भुकताङ्लेमा शनिबार साँझ एक महिला र वडा नं ७ राम्जादेउरालीमा एक पुरुषको मृत्यु भएको हो ।

भुकताङ्लेका ५८ वर्षीया प्रेमकुमारी शाही र राम्जादेउरालीस्थित स्थानीय जीवनज्योति प्राविका बहालवाला शिक्षक ५७ वर्षीय शालिकराम तिमिल्सिनाको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अविनाशदिप केसीले जानकारी दिए ।

उनका अनुसार शनिबार साँझ ६.३० बजे आफ्नै घरको पिँढीमा चट्याङ लागेर अचेत बनेका तिमिल्सनालाई उपचारका लागि पोखरास्थित गण्डकी मेडिकल कलेजमा लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए । हावाहुरी, र वर्षा भइरहेका बेला तिमिल्सिना भैँसी दुहुन पिँढीमा निस्किँदा एक्कासि चट्याङ लागेको थियो ।

त्यसैगरी चट्याङ लागेर घाइते भएपछि पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा पु¥याइएकी शाहीलाई पनि चिकित्सकले मृत घोषणा गरेका प्रहरी निरीक्षक केसीले जानकारी दिए । प्रहरीको टोली दुवै घटनास्थलमा मुचुल्काका लागि पुगेको र थप विवरण पछि आउने उनले बताए ।

शनिबार साँझ परेको वर्षासँगैको असिनाले पनि पर्वतको मोदी गाउँपालिकामा ठूलो नोक्सानी पु¥याएको छ । सुन्तलाको पकेट क्षेत्र वडा नं २ देउपुरमा कोपिला लाग्न थालेका सुन्तला झारेर नष्ट गरेको स्थानीय प्रकाश चापागाइँले जानकारी दिए ।

रासस

ताजा समाचार

सम्बन्धित समाचार