Wednesday, October 23, 2024

डढेलोमा गम्भीर घाइते बालकको मृत्यु

३० चैत, काठमाडौं 
डोल्पाको वन डढेलोमा गम्भीर घाइते भएका ३ जना बालकमध्ये एकजनाको उपचारका क्रममा मृत्यु भएको छ । जिल्ला अस्पतालमा १० वर्षीय सुलस बुढाको मृत्यु भएको अस्पतालले जनाएको छ ।

अन्य २ जना बालकलाई थप उपचारका लागि काठमाडौं पठाउने तयारी भएको प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले जानकारी दिए ।बिहीबार गाउँ नजिकैको रंङ्गको सुवा सामुदायिक वनमा गुच्ची च्याउ टिप्न गएका त्रिपुरा सुन्दरी नगरपालिका–४ का बालकहरू गम्भीर घाइते भएका थिए । उनीहरूलाई त्रिपुरा सुन्दरी नगरले हेलिकोप्टरको व्यवस्था गरी काठमाडौं पठाउने भएको छ ।

यसअघि मंगलबार (२७ चैतमा) डोल्पाकै ठुलीभेरी नगरपालिका–४ मा रहेको मष्टा सामुदायिक वनमा डढेलो निभाउने क्रममा घाइते भएका ४ जना नेपाली सेनामध्ये ३ जनाको उपचारका क्रममा निधन भएको थियो ।

यसैबिच, दक्षिण हुम्लाको सर्केगाड गाउँपालिका–८ रादेउमा आगलागीमा परी एक पुरूषको मृत्यु भएको छ । कुरिल्ला लेखको आफ्नै भेडीगोठमा बुधबार राति आगलागी हुँदा ५५ वर्षीय हर्के ऐडीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । हावाहुरीले आगलागी हुँदा ऐडीको निधन भएको प्रहरी निरीक्षक नरेन्द्र चन्दले बताए । उनकाअनुसार आगलागीमा परेर भेडीगोठका ६० वटा भेडा समेत मरेका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार