Sunday, November 9, 2025

नयाँ वर्षमा पञ्चासे जैविक विविधता सम्मेलन


२८ चैत, पोखरा  
सुनाखरीको राजधानीको उपमा पाएको पञ्चासेस्थित कास्कीको अन्नपूर्ण गाउँपालिका–४ भदौरे देउरालीमा आगामी शनिबार (१ वैशाख)देखि जैविक विविधता सम्मेलन हुने भएको छ ।

‘पञ्चासेको सान जैविक विविधता र पर्यापर्यटन’ भन्ने मूल नाराका साथ ३ दिने महोत्सव तय भएको हो । पञ्चासे ईको टुरिजम प्रालिको आयोजनामा पञ्चासे पर्यापर्यटन महोत्सव तथा सम्मेलन हुने आयोजकले जनाएको छ । शान्त पर्यापर्यटन र जंगल परिभ्रमणकसँगै ग्रामीण क्षेत्रको पर्यापर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ शान्त पर्यावरणीय मेलाका रूपमा कार्यक्रमलाई अघि बढाइको पञ्चासे ईको टुरिजमका अध्यक्ष नवराज पौडेलले जानकारी दिए ।

उनकाअनुसार विशेष पर्यावरणीय पदयात्रा गरी सम्मेलन उद्घाटन हुने छ । २ वैशाखमा विशेष सत्रका रुपमा कार्यपत्र प्रस्तुति सँगसँगै सुनाखरी, चरा र जैविक विविधता अवलोकनको कार्यमूलक सत्र सञ्चालन गरिने छ । तेस्रो दिन योगा, आध्यात्म शिविर र जङ्गल परिभ्रमण पदयात्रा गरी जंगलकै बीचमा सुनाखरी सत्र सञ्चालन गरी कार्यमूलक अवलोकन गर्ने कार्यक्रम तय भएको छ ।

सम्मेलनमा जैविक विविधता विज्ञ डा. हुम गुरुङ, सुनाखरी वैज्ञानिक भक्तबहादुर रस्कोटी, गण्डकी प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय गण्डकीका सचिव डा. रामचन्द्र कँडेल, अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) गण्डकीका प्रमुख डा. रवीन कडरिया, पर्यटन विज्ञ डा. रामजी शर्मा, पर्यटन विज्ञ डम्बर पुन, चरा विज्ञ मनसान्त घिमिरे, वुद्धिजीवी डा. अमर नागिलालगायत सम्मेलनमा सहभागी हुने छन् ।

स्थानीय सांस्कृतिक कार्यक्रम, ट्होटें र गुरुङ संस्कृतिमा आधारित रोधीसमेत सम्मेलनमा प्रस्तुत गरिने छ । सम्मेलनलाई अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्नका लागि आवधिक रुपमा सञ्चालन गर्दै लैजाने तयारी गरिएको छ । आगामी वर्षदेखि पञ्चासे ईको टुरिजम प्रालिले पञ्चासे सांस्कृतिक कार्यक्रम, पञ्चासे पर्यापर्यटन महोत्सव र पञ्चासे जैविक विविधता सम्मेलन गरी वार्षिक ३ वटा कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।

रासस

ताजा समाचार

सम्बन्धित समाचार