Wednesday, October 23, 2024

सेनाले ३ वटा हिमालबाट १० टन फोहर संकलन गर्ने

२५ चैत, काठमाडौं 
नेपाली सेनाले सगरमाथा, ल्होत्से र नुप्से हिमालबाट फोेहोर संकलन गर्ने भएको छ । ‘सफा हिमाल अभियान–२०२४’मार्फत ५ वटा मानव शवसहित १० टन फोहर संकलन गर्ने तयारीमा सेना जुटेको हो ।

१८ जना शेर्पा सहयोगीसहित १२ जना सेनाको टोली सफाई अभियानमा खटिने छ । यही बिहीबार (२९ चैत)बाट सुरु हुने अभियान आगामी २३ जेठ (जुन ५ तारिख) अर्थात् विश्व वातावरण दिवसका दिन समापन हुने सैनिक मुख्यालयले जनाएको छ ।

अभियानका संयोजक एवं सहायक रथी सञ्जय देउजाकाअनुसार १० जनाले सगरमाथा आधार शिविरमाथि र २ जनाले नाम्चेमा रहेर संयोजन गर्नेछन् । ५० दिनको अवधिमा ८ हजार मिटर उचाइसम्मको फोहर संकलन हुने आइतबार (२५ चैतमा) आयोजित पत्रकार सम्मेलनमा उनले जानकारी दिए ।

गत वर्ष सेनाको टोलीले सगरमाथा, ल्होत्से, बरुन्चे तथा अन्नपूर्ण हिमालको सफाइका क्रममा ३५ टन फोहर संकलन गरेको थियो । यो कार्यमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, सरोकारवाला संघ संस्थासमेत जोडिएका छन् ।

कुहिने/नकुहिने फोहोर सोलुखुम्बुको नाम्चेमा वर्गिकरण गर्दै कुहिने फोहोर खुम्बु पासाङल्हामु गाउँपालिका र सगरमाथा प्रदूषण नियन्त्रण समितिको समन्वयमा व्यवस्थापन गरिने बताइएको छ । मानव शव सगरमाथाको दोस्रो शिविरबाट हेलिकोप्टरमार्फत आधार शिविरहुँदै लुक्ला पु¥याएर पहिचान गरिने पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

ताजा समाचार

सम्बन्धित समाचार