Wednesday, October 23, 2024

कर्णको अध्यक्षतामा एनएफएको नयाँ कार्यसमिति

२५ चैत, काठमाडौं 
नेपाल वन प्राविधिक संघ (एनएफए)को अध्यक्षमा राकेश कर्ण निर्वाचित भएका छन् । प्रजातान्त्रिक वन प्राविधिक संघका सदस्य कर्णको अध्यक्षतामा आगामी ३ वर्षका लागि नयाँ कार्यसमिति चयन भएको हो ।

आइतबार (२५ चैत) विहान सबेरै सार्वजनिक भएको मत परिणामअनुसार कर्णले १ हजार २ सय ६१ मत प्राप्त गरे । उनी वन प्राविधिक संघ, मधेसका लागि वन र नेपाल राष्ट्रिय वन प्राविधिक सञ्जालका तर्फबाट उम्मेदवार थिए । कर्णका निकटतम् प्रतिस्पर्धी विजयराज पौडेलले ८ सय ८६ मत प्राप्त गरे ।

पौडेल प्रगतिशील वन प्राविधिक संघ र मधेसका वनको तर्फबाट उम्मेदवार थिए । मतदान शनिबार (२४ चैतमा) भएको हो । अघिल्लो (३ वर्षअघिको) निर्वाचनमा समेत अध्यक्षका प्रत्यासी रहेका कर्ण डा. किरण पौडेलसँग पराजित भएका थिए ।

यसअघि उम्मेदवारी दर्ता गर्दा कर्ण र पौडेलसहित यज्ञनाथ दाहाल र गौरीशंकर तिमलाले पनि अध्यक्ष पदकालागि दावेदारी पेश गरेका थिए । यसपटकको निर्वाचनमा वन प्राविधिक संघको वाहुल्य रहे पनि मिश्रित पदाधिकारी चयन भएका छन् । उपाध्यक्षमा प्रगतिशील समूहबाट सुजित कुमार झा र महिला सदस्यमा राधिका सुवेदी विजयी भएका छन् ।

महासचिवमा प्रजातान्त्रिक समूहमा प्यानलका गोविन्दप्रसाद दाहाल, महिला महासचिवमा सुनिता उलक, महिला सचिव सिर्जना श्रेष्ठ, सचिवमा सुदीप छत्कुली, कोषाध्यक्षमा सुजिताकुमारी राउत निर्वाचित भएका छन् । यसैगरी सदस्यहरुमा शुभाष चन्द्र शर्मा, प्रकाशराज भट्ट, निरज बाकु भट्ट, प्रशासन सापकोटा र महिला तर्फ पुष्पाकुमारी मिश्रा, सिर्जना श्रेष्ठ र राधिका शर्मा विजयी भएका छन् ।

कूल ३ हजार १ सय ६७ मतदातामध्ये २ हजार २ सय ३२ मत खसेको निर्वाचन समितिले जनाएको छ । यो निर्वाचनमा सर्वाधिक लोकप्रिय मत सचिवमा निर्वाचित छत्कुलीले प्राप्त गरे । उनले १ हजार २ सय ६५ मत प्राप्त गरेका समितिले जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार