२४ चैत, काठमाडौं
ध्रुवीय हिउँ तीव्र रूपमा पग्लिँदा पृथ्वीको आफ्नै कक्षमा घुम्ने गति ढिलो हुन गई विश्वव्यापी समय निर्धारण प्रक्रियासमेत प्रभावित भएको एक अध्ययनले देखाएको छ ।
अध्ययनअनुसार जलवायु परिवर्तनका कारण पृथ्वीको तापमान बढ्दा ग्रिनल्यान्ड र अन्टार्कटिकामा हिउँको तह तीव्र रूपमा पग्लिन गई ठुलो पिण्ड (मास) पृथ्वीको मध्यभागतर्फ सरेको देखिएको छ ।
पृथ्वीको गुरुत्वाकार्षण मापन गर्ने उपग्रहहरूले उपलब्ध गराएको तथ्यांकले सन् १९९० यता यो प्रक्रियाले तीव्रता पाएको छ । वैज्ञानिक जर्नल ‘नेचर’मा गत साता प्रकाशित प्रतिवेदनअनुसार मध्यभागतर्फ प्रवाह भएको यो पिण्डले सूर्यवरिपरि घुम्ने पृथ्वीको गतिलाई समेत ढिलो पारेको छ ।
‘विश्वको तापमान वृद्धिले हाम्रो समय निर्धारण प्रक्रियालाई पनि असर पारिसकेको छ’, नेचर जर्नलमा उल्लेख छ । क्यालिफोर्निया विश्वविद्यालयको ‘स्क्रिप्स इन्स्टिच्युसन अफ ओसियोनोग्राफी’का भूगर्भ–भौतिककशास्त्री तथा अध्ययन टोली प्रमुख डन्कन एग्न्युका अनुसार यो प्रक्रियाले अन्तर्राष्ट्रिय रूपमा समय मापन गरिने तौरतरिका (स्टान्डर्ड) लाई समेत प्रभावित पार्ने देखिएको छ ।
परमाणुद्वारा उत्सर्जित प्रकाशको आवृत्ति (फ्रिक्वेन्सी) का आधारमा निर्माण गरिएको ‘एटोमिक’ घडीका आधारमा अन्तर्राष्ट्रिय समय निर्धारण गरिन्छ । विभिन्न कारणले समय–समयमा पृथ्वीको आफ्नै कक्षमा घुम्ने गति फरक हुँदा एटोमिक घडीको समयलाई नियमित रूपमा खगोलीय समयसँग समायोजन गरिएको छ ।
एटोमिक घडीलाई समय–समयमा समायोजन गर्नुपर्ने आवश्यकताकै कारण सन् १९७२ मा ‘लिप सेकेन्ड’ अवधारणको जन्म भएको थियो । समन्वित विश्व समय (युटिसी) लाई बेलाबेलामा समायोजन गर्दा मिलान गरिएको सेकेन्डलाई अधिक अथवा लिप सेकेन्ड भनिन्छ । अन्तर्राष्ट्रिय समय निर्धारणकर्ताले सन् १९७२ यता २७ लिप सेकेन्ड थपिसकेका छन् । इन्टरनेसनल अर्थ रोटेसन एन्ड रेफरेन्स सिस्टम सर्भिस’ले लिप सेकेन्डको घोषणा गर्छ ।
सूर्य र चन्द्रमाको गुरुत्वाकर्षणले आफूतिर तान्ने भएकाले पृथ्वीको आफ्नै कक्षमा परिक्रमा गर्ने प्रक्रिया त्यति सहज हुँदैन । पृथ्वीको आफ्नै गर्भभित्र रहेको तातो तरल पदार्थले घुम्ने गतिमा हुने परिवर्तन, समुद्रको पिँध र समुद्रको पानीको बीच हुने घर्षण, पृथ्वीको सतहमा रहेको पिण्डको परिवर्तनले यो प्रक्रियालाई प्रत्यक्ष प्रभाव पार्छ ।
यसैगरी कतिपय अवस्थामा भूकम्पले समेत पृथ्वीको घुम्ने प्रक्रियालाई प्रभावित गरेको पाइएको छ । अध्ययनको नेतृत्व गरेका भूगर्भ–भौतिककशास्त्री एग्न्युका अनुसार सन् २००४ मा इन्डोनेसियामा गएको ९.१ रेक्टर स्केलको भूकम्पले जमिनको सतहलाई परिवर्तन गरिदिँदा पृथ्वीको घुम्ने गति केही छिटो भएको थियो ।
भूकम्पले पारेको प्रभाव भन्दा हिउँको तह पग्लिँदा बढीे प्रभाव देखिनुलाई एग्न्युले आश्चर्यजनक मानेका छन् । ‘भूकम्पले पारेको प्रभावभन्दा मानवजातिले गरेको गतिविधिका कारण पृथ्वीको परिक्रमा गति धेरै प्रभावित भएको देखिएको छ’, उनले अध्ययन प्रतिवेदनमा भनेका छन् ।
त्यसो त लिप सेकेन्ड थपिने प्रक्रिया नियमित समयसारिणीमा नहुने र आवश्यकता परेको अवस्थामा गरिने भएकाले समय मापन विज्ञले अझैं पनि यो प्रक्रिया र प्रणालीलाई त्यति रुचिकर मान्दैनन् । वित्तीय बजार र भू–उपग्रहमा आधारित ‘नेभिगेसन’ प्रणाली सटिक समयमा निर्भर रहनुपर्ने हुँदा उनीहरूले आफ्नै हिसाबले लिप सेकेन्डलाई आत्मसात् गर्ने विधि तय गर्दै आएका छन् ।
लिप सेकेन्डको हिसाब गर्दा हुने झन्झट र प्रक्रियागत जटिलताका कारणलाई लिएर सन् २०२२ मा बसेको विश्वका मापन विज्ञ तथा वैज्ञानिकहरूको एक बैठकमा लिप सेकेन्डलाई अस्वीकार गरेर बारम्बर गरिरहन नपर्ने हिसाबले त्योभन्दा अधिक समय अर्थात् एक मिनेट कायम गर्नुपर्ने पक्षमा मतदान भएको थियो ।
सन् २०२६ मा हुने अर्काे बैठकले यो विषयलाई निरूपण गर्ने निर्णय भएको छ । अपेक्षा गरेभन्दा पृथ्वीको गति ढिलो भएकाले अब त्यो विषयलाई निरूपण गर्न त्यति हतार नहुने वैज्ञानिकले बताएका छन् ।
भूगर्भ–भौतिकशास्त्री एग्न्यु वर्तमान अवस्थामा समयलाई समायोजन गर्नुपर्ने आवश्यकता केही वर्ष अर्थात् सन् २०२६ देखि २०२९ सम्मका लागि पर धकेलिएको ठान्छन् । उनका अनुसार हाल पृथ्वीको परिक्रमा गति (खगोलीय समय) र एटोमिक घडीले दिने समयमा झन्डै मिलन (सिन्क्रोनाइज) देखिएको छ । तर यो अवस्था क्षणिक रहेको उनको तर्क छ ।
जलवायु परिवर्तनले समय निर्धारण प्रक्रियामा समेत प्रभाव पारेको सन्दर्भमा विश्वलाई जलवायु कार्यमा थप प्रेरित गर्नुपर्ने उनी ठान्छन् । हिउँ पग्लने दर ३० वर्षअघिकोे तुलनामा ५ गुणाले बढेको वैज्ञानिक अध्ययनले देखाएका छन् । ‘यो अध्ययनले जलवायु परिवर्तन कति ठूलो चुनौती हो भन्ने प्रष्ट भएको छ,’ एग्न्युले प्रतिवेदनमा भनेका छन् ।