Wednesday, October 23, 2024

एकै वर्षमा मरे १९ गैंडा

२२ चैत, चितवन 
चालु आर्थिक वर्षको यो अवधिसम्ममा चितवन राष्ट्रिय निकुञ्जमा १९ वटा गैंडा मरेका छन् ।

१५ वटा गैंडा प्राकृतिक कारणले, ३ वटा चोरी शिकारीबाट र मृत भेटिएको अर्को एक गैंडाको कारण खुलेको छैन । बुढो भएर, बाघको आक्रमण र रोग लागेर निधन भएकालाई वन्यजन्तु विज्ञले ‘प्राकृतिक कारण’ मान्ने गरेका छन् ।

पछिल्लो समय गत ३ चैतमा करिब ३२ वर्षको वयस्क भाले गैंडा मृत भेटिएको थियो । माडीको बगई सेक्टरमा जाने बाटो नजिकै सो मृत फेला परेको सो गैंडाबारे निकुञ्जले ढिलै गरी जानकारी प्राप्त गरेको निकुञ्जका संरक्षण अधिकृत एवं सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।

तथ्य संकलन गर्दा सो गैंडा प्राकृतिक कारणले मरेको निकुञ्जको ठहर छ । चालु आर्थिक वर्षको चैत तेस्रो सातासम्ममा  चितवनमा ३ वटा बाघ, ५ वटा हात्ती, २ वटा मगर गोही र एउटा घडियाल गोही मरेका निकुञ्जको अभिलेख छ । यो वर्ष सबैभन्दा बढी (२० वटा) चित्तल मरेका छन् । विभिन्न ५८ वटा जिवजन्तुको मृत्यु भएकोमा १ सय ६३ वटालाई उद्धार गरी उपचार पश्चात धेरैलाई प्राकृतिक वातावरणमा फर्काइएको तिवारीले बताए ।

निकुञ्जले उद्धार गरेका वन्यजन्तुमध्ये सबैभन्दा बढी अजिङ्गर छन् । १० महिनाको अवधिमा ६४ अजिङ्गर, ५१ वटा सर्प, ६ वटा बाघ, ३ वटा गैंडासहितका जनावर रहेको तिवारीले जानकारी दिए ।

ताजा समाचार

सम्बन्धित समाचार