Wednesday, October 23, 2024

चट्याङ पूर्वानुमान मेसिन अलपत्र

२२ चैत, काठमाडौं 
नेपालमा चट्याङको पूर्वानुमान गर्ने योजना अलपत्र परेको छ । चट्याङ पूर्वानुमानका प्राविधिक उपकरणले काम गर्न छाडेपछि परीक्षणकालमै योजना अलपत्र परेको हो ।

यससँगै चट्याङको पूर्वानुमान गरेर आम नागरिकको जिउधन जोगाउने योजना अन्योलमा परेको छ । जल तथा मौसम विज्ञान विभागले चट्याङको पूर्वसूचना दिने तयारीसाथ परीक्षण गरिरहेको थियो । तर मेसिनले काम नगरेपछि परीक्षणको काम पनि ठप्प भएको विभागका प्रवक्ता सुनील पोखरेलले बताए ।

देशका विभिन्न ९ स्थानमा स्टेसन राखेर चट्याङको तथ्य संकलन भइरहेको थियो । एक वर्षदेखि मेसिन चल्ने र बिग्रने हुँदै काम गर्न छाडेको हो । तत्कालको चट्याङ पूर्वानुमान गर्न नसके पनि कता कता प¥यो भन्ने जानकारीसहित आधा घण्टामा सूचना जारी (नाउ कास्ट) गर्न सकिने भएकाले सोही अनुसार परीक्षण थालिएको थियो ।

विभागको उपकरण क्यालिब्रेसन तथा व्यवस्थापन प्रमुख इन्दिरा कँडेलका अनुसार मेसिन बनाउन नसकिएका कारण परीक्षणकालमै सीमित भएको चट्याङ अनुगमनको काम ठप्प भएको हो । उनले भनिन्, ‘वारेन्टी रहुन्जेल मेसिनले राम्रै काम ग¥यो तर वारेन्टी सकेको भन्दै बन्द भएको मेसिन बनाउन कम्पनीले मानेन ।’ सुरूवाती चरणमा ३ वर्ष चल्दा राम्रै तथ्य सङ्कलन भएको उनले बताइन् ।

तथापि केही स्टेसनको फ्रिक्वेन्सी अन्यसँग जुधेपछि अन्त सारेर परीक्षण थालिएको थियो । मेसिन बिग्रेसँगै अनुगमनको सर्भरमा थप समस्या आएर काम हुन नसकेको कँडेलले बताइन् । विश्व बैंकको साझेदारीमा जलवायु प्रकोप समुत्थान आयोजना सञ्चालन हुँदा सो मेसिन खरिद भएको थियो । सो आयोजना बन्द हुँदा आवश्यक प्राविधिक सहयोग नआएकाले चट्याङ अनुगमन अन्योलमा परेको हो । ‘नाउ कास्टिङ’ को सूचना दिने गरी थालिएको परीक्षणमा प्राविधिक दक्षताको अभावले कर्मचारीले काम गर्न सकेका छैनन् ।

प्राविधिक जनशक्तिको अभाव पूर्ति गर्न आयोजना अन्तर्गत जनशक्तिको क्षमता अभिवृद्धिका धेरै प्रशिक्षण दिइने भनिएको थियो । तर ती तालिम तथा प्रशिक्षणको आयोजना गर्न विभाग र अन्य निकायले सकेनन् । आयोजन सुरु हुँदा यस्तो प्रविधि भित्र्याउँदा जनशक्ति थपिनुपर्ने सर्त पूरा भएन । त्यसले गर्दा पनि सामान्य बिग्रेको मेसिनको अवस्था हो वा पूरै बिग्रेको हो भन्ने जानकारी उनीहरूले पाउन सकेनन् ।

सो परियोजना अन्तर्गत नेपालमा ३ वटा राडार सुर्खेत, पाल्पा र उदयपुरमा जडान गरिए । त्यस्तै विभागमा उच्च प्रविधियुक्त कम्प्युटर तथा अन्य उपकरण पनि जडान भए । तीनमध्ये दुई वटा राडारले काम निरन्तर गरे तर सुर्खेतको भने राम्ररी नचलेर बन्द छ । राडारले पनि चट्याङको पूर्वानुमान गर्न सघाउने गरी सूचना दिन्थे । त्यो पनि एउटा नचल्दा त्यो क्षेत्रको मौसमजन्य सूचना संकलनमा अवरोध सिर्जना भएको छ । राडारमै चट्याङ पर्ने, ओभर भोल्टेज भएर बिग्रने समस्या आइरहेको छ ।

उपकरण शाखामा कार्यरत कँडेलसहित ३ जना प्राविधिक पनि ज्ञानको अभावले अहिले कामविहीन छन् । उपकरणको सबै प्राविधिक पक्ष नजानेकाले उनीहरू मेसिन टुलुटुलु हेरेर बस्न बाध्य छन् । उनीहरूसँगै थप ३ जनाको दरबन्दी शाखामा छ ।

कुल ३१ करोड अमेरिकी डलर बराबरको बजेट आयोजनामार्फत आएकोमा २६ करोड अमेरिकी डलर बराबरको खर्च विभाग अन्तर्गत भयो । जसबाटै विभागको आधुनिक भवन, राडार, अटोमेटिक स्टेसन, कम्प्युटर जडान गरिएको विभागले जनाएको छ । बाँकी ५ करोड अमेरिकी डलर कृषि अनुसन्धान परिषद् र कृषि मन्त्रालयले खर्च गरेको थियो ।

राम्रो तथ्यसहित पूर्वानुमान गर्न नसकेपछि पहिलेकै मोडलमा कता, कस्तो बादल बनिरहेको छ भन्ने आधारमा विभागको मौसम पूर्वानुमान महाशाखाले चट्याङ पर्ने अनुमानजन्य सूचना दिँदै आएको छ । गत वैशाखयता चट्याङबाट ४३ जनाको ज्यान गएको छ । २ सय ३४ वटा चट्याङका घटना भएकामा २ सय १७ जना घाइते भएका छन् ।

–गोरखापत्र दैनिक 

ताजा समाचार

सम्बन्धित समाचार