Sunday, September 8, 2024

राष्ट्र संघीय जैविक विविधता प्रमुखमा स्कोमाकर

२१ चैत, एजेन्सी 
संयुक्त राष्ट्र संघको जैविक विविधता सम्बन्धी महासन्धि (सिबीडी)को कार्यकारी सचिवमा एस्ट्रिड स्कोमाकर नियुक्त भएकी छन् ।
राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले जर्मनीका स्कोमाकरलाई जैविक विविधता प्रमुख नियुक्त गरेका हुन् । स्कोमाकर यूरोपियन यूनियनको दिगो विकासका लागि निर्देशक हुन् । राष्ट्र संघको महत्वपूर्ण निकाय सिबिडी विश्वको जैविक विविधतामा बहुपक्षीय वातावरणीय सम्झौता हो ।

जैविक विविधताको संरक्षण, यसका अवयवहरूको दिगो प्रयोग र आनुवंशिक स्रोतहरूबाट हुने समन्यायिक बाँडफाँडका लागि यो निकाय क्रियाशील छ । सन् १९९२मा ब्राजिलको रियो दि जेनेरियोमा सम्पन्न पृथ्वी शिखर सम्मेलन पश्चात सन् १९९३ डिसेम्बरमा जैविक विविधता सम्बन्धी अन्तर्राष्ट्रिय सन्धि भएको थियो । विश्वका १ सय ९६ देशहरू सिबीडीका पक्ष राष्ट्र छन् ।

सिबीडी पक्ष राष्ट्रहरूको १६औं सम्मेलन (सिबीडी कोप–१६) आगामी २१ अक्टोबरदेखि १ नोभेम्बरसम्म कोलम्बियाको क्यालीमा हुँदै छ । यसअघि १६ औं जमघट टर्कीमा तय भएको थियो । गत फेब्रुअरीमा आफ्नो देशमा गएको विनाशकारी भूकम्प र जनधनको क्षतिपछि टर्कीले अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्न नसक्ने जनाएपछि १६औं सिबीडीको तयारी कोलम्बिया जुटेको छ ।

१६औं सिबीडीमा पक्ष राष्ट्रहरू विश्वव्यापी वातावरण सुविधा, वित्तीय स्रोतहरूमा विभेद घटाउन र विकसित देशहरूले जैविक विविधतामा वित्तीय स्रोतहरू बढाउनुपर्ने पक्षमा जुट्ने बताइएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार