काठमाडौं– काठमाडौं महानगरपालिकाले सडकको धुलो सफा गर्न पाँच वटा भ्याकुम भएको कुचो (ब्रुमर) यन्त्र खरिदको प्रक्रिया अगाडि बढाएको छ।
सडक बढार्न र धुलो तान्न पाँच वटा ब्रुमर खरिदका लागि सात वटा कम्पनीले बोलपत्र गराएको महानगरका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए। उनका अनुसार सामाजिक विकास विभागका निर्देशक रवीनमान श्रेष्ठको संयोजकत्वमा रहेको बोलपत्र मूल्यांकन उपसमितिले बोलपत्र मूल्यांकन गरिरहेको छ। बोलपत्र गत २२ चैतमा आह्वान भएको थियो।
पाँच वटा ब्रुमरका लागि महानगरले १० करोड ३१ लाख लाग्ने अनुमान गरीएको छ, अर्थमन्त्रालयले महानगरलाई ब्रुमर खरिदका लागि ९ करोड रुपैयाँ विनियोजन गरेको थियो। बाँकी बजेट महानगरले थपेको प्रवक्ता कार्कीले बताए।
ब्रुमर खरिद पश्चात रातको समयमा ८ घण्टासम्म सडक सफा गर्ने योजना महानगरको छ।
हाल महानगरले कुचोले बढारेर धुलो सफा गर्ने गरेको छ, भने ट्यांकरको पानीले रातिको समयमा सडक सफा गर्ने गरिन्छ। अब सडक सफाइमा दैनिक रुपमा ब्रुमर चल्नेछन्। प्रवक्ता कार्कीका अनुसार ब्रुमरले एक घण्टामा पाँच किलोमिटरसम्म सडक सफा गर्न सक्छ। ब्रुमर खरिद पश्चात रातको समयमा ८ घण्टासम्म सडक सफा गर्ने योजना महानगरको छ।
२०७४ वैशाख ३१ गते भएको स्थानीय तहको पहिलो चरणको चुनावमा महानगरका मेयर विद्यासुन्दर शाक्यले ‘क्लिन सिटी’ अभियानको घोषणा गरेका थिए।
महानगरपालिकासँग हाल एउटा मात्रै ब्रुमर छ। जुन सन् २०१४ मा नेपालमा भएको सार्क शिखर सम्मेलनताका खरिद गरिएको थियो। तर, त्यसअघि चीनले निःशुल्क उपलब्ध गराएको दुुईवटा ब्रुमर ब्रिगिएर थन्किएका छन्। ती ब्रुमर बनाउनै नमिल्ने गरी बिग्रिएको कार्कीले बताए।