काठमाडौं– आजका दैनिक पत्रपत्रिकाले प्राकृतिक विपद्, फोहोर जलाउन निरुत्साहित गर्ने लगायतका समाचारलाई प्राथमिकताका साथ सम्प्रेषण गरेका छन्।
नागरिक दैनिकमा ‘सरकारी कार्यालयले फोहोर जलाउन नपाउने ?’ शीर्षकमा समाचार प्रकाशित छ। बसन्त खड्काले लेखेको समाचारमा भनिएको छ, ‘वन तथा वातावरण मन्त्रालयले सुरु गर्न लागेको नेपाल स्वास्थ्य वातावरण अभियान २०७५ को सुरुवात गरेसँगै सरकारी कार्यलयले फोहोर जलाउन नपाउने व्यवस्था गर्न लागिएको हो।’
फोहोर जलाउँदा वातावरण प्रदूषण हुने भएकाले सुरुमा सरकारी कार्यालयबाट फोहोर जलाउने प्रचलनलाई अन्त्य गर्न लागिएको वातावरण विभागले जनाएको नागरिकले उल्लेख गरेको छ।
नागरिकमै ‘बुधबारदेखि मौसम सुधार हुने’ शीर्षकमा समाचार प्रकाशित छ। केही दिन यता देशभर भरहेको वर्षा तथा मौसममा भइरहेको बदलीमा बुधबारबाट सुधार हुने समाचारमा जनाइएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबारदेखि पश्चिमतर्फको मौसम खुल्दै जानेछ भने बुधबारबाट मध्य र पुर्वी क्षेत्रमा पनि मौसम खुल्नेछ।
अविरल वर्षपछि बाढीसँगै आएको गेगरले रामेछाप सदरमुकाम मन्थली बजार डुबाएको तस्वीर अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ। बिफा घिसिङले खिचेको फोटोमा मन्थली बजारस्थित बसपार्क गेगरले डुबाएको देखिन्छ । त्यहाँ आएको बाढीले १ जना छात्रालाई बगाएर बेपत्ता बनाएको छ।
सोही खबरलाई कान्तिपुरले ‘बाढीमा किशोरी बेपत्ता’ शीर्षक दिएर छापेको छ।
अनपूर्ण पोस्टमै ‘हिमाल खटाइएका ७७ कर्मचारी खै?’ शीर्षकमा खबर छापिएको छ। ‘पर्वतारोहीको नियमन, सहजीकरण र समन्वय गर्न सरकारले विभिन्न हिमालमा काजमा खटाएका सम्पर्क अधिकृत सम्बन्धित क्षेत्रमा नजाने गरेको पाइएको खबर छेदुु शेर्पाले लेखेका छन्।
पर्वतको कुस्मामा चट्याङ लागेर ८ घरमा क्षति पुगेको छ। यस्तै चट्याङबाट स्याङ्जामा ४ सय ५० कुखुरा मरेको र नारामै पहिरो व्यवस्थापन शीर्षकको खबर पनि यही छ।
‘दुवै खुट्टा नभएका ७० वर्षीय चिनियाँ आरोही सगरमाथा शिखरमा’ शीर्षकको खबर राजधानी दैनिकमा छ। यो खबर मधुजंग पाण्डेले लेखेका हुन्। दुवै खुट्टा नभएका जिइ वोयुले सगरमाथाको सफल आरोहण गरेका हुन्। लगातार पाँचै पटकको प्रयासपछि सगरमाथाको चुचुरोमा पुगेर उनले दुवै खुट्टा बिना सगरमाथाको आरोहण गर्ने पहिलो आरोहीको कीर्तिमान कायम राखेका छन्।
यसैगरी, कान्तिपुर दैनिकले ४० आरोही सगरमाथा चुचुरोमा पुगेको समाचार प्रकाशित छ। ४३ वर्षदेखि सगरमाथा आरोहणको निरन्तर प्रयास गरिरहेका चिनियाँ नागरिकले सोमबार सफलता प्राप्त गरेका छन्। यही खबर नागरिक दैनिकमा पनि छ। खबरमा जनाइए अनुसार एकै दिन ५० आरोहीले सगरमाथा आरोहण गरेका छन्।
धरान–चतरा–हेटौंडा सडक निर्माणका लागि प्रयोग हुने नदीजन्य पदार्थ उत्खनन्मा ठेकेदारले खोलाबाट ग्राभेल निकाल्न अवरोध गरेपछि काम रोकिन पुगेको छ। ‘वैकल्पिक मार्ग निर्माण अवरुद्ध’ शीर्षकमा राजधानीमा उदयपुरबाट ईश्वर तामाङले लेखेको समाचारमा सो वैकल्पिक मार्ग निर्माण अवरुद्ध भएको उल्लेख छ।
नारायणगढ–मुग्लिन सडकखण्ड निर्माण र विस्तारका लागि चौथोपटक समय थप हुँदा समेत समयमा काम नसकिएको खबर राजधानीमा राधेश्याम खतिवडाले लेखेका छन्।
यस्तै काभ्रेपलाञ्चोकको पनौती नगरपालिका –२ का कुशादेवी र कलाँतीमा रहेका ढुङ्गाखानी र क्रसरले गर्दा बस्ती विस्थापन हुने खतरा बढेको खबर पनि छ। कञ्चनपुरमा सिँचाइ अभावले चैतेधानमा ह्रास आएको समाचार पनि राजधानीमै प्रकाशित छ।