Saturday, October 26, 2024

इन्द्रजात्राको साइत सार्वजनिक

काठमाडौ, साउन २६ (हाकाहाकी)– नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको इन्द्रजात्राको साइत सार्वजनिक गरेको छ ।

जात्राको लिङ्गो काट्न वन यात्रा जाने साइत भदौ ४ गते बिहान सवा ११ बजे निस्किएको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताउनुभएको छ ।

साथै रूख काट्ने साइत पनि त्यसै दिन राति ९ बजेर २५ मिनेटको रहेको समितिले जनाएको छ । काटिएको लिङ्गो नगर प्रवेश गराउने साइत भने भदौ १० गते बुधबार बिहान १० बजेर ५५ मिनेटमा शुभ रहेको जनाइएको छ ।

यसैगरि भाद्र शुक्ल द्वादशीका दिने भदौ १४ गते आइतबार बिहान ७ बजेर ७ मिनेटमा इन्द्रध्वजोत्थान गर्ने साइत समितिको बैठकले दिएको छ । भाद्र शुक्ल चतुर्दशीका दिन भदौ १६ गते कुमारी यात्रा शुरु हुन्छ ।

भदौ १७ गते कुमारीलाई माथिल्लो टोल यात्रा गराइन्छ । यसैगरी भदौ २१ गते नानिचा यात्रा गराइने विधि रहेको छ । आश्विन कृष्ण चौथीका दिन इन्द्रध्वजपातन अर्थात् इन्द्रजात्राको लिङ्गो ढालिन्छ । यस वर्ष भदौ २२ गते बिहानको ४ बजेर ६ मिनेटमा भने लिङ्गो ढाल्ने साइत निस्किएको समिति अध्यक्ष गौतमले जानकारी दिनुभयो ।

उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएकाले यस वर्ष इन्द्रजात्रा कुन रुपमा मनाउने भन्ने निर्णय भइसकेको छैन । कोरोनाकै कारण यस वर्ष रातो मच्छेन्द्रनाथको भोटो देखाउने जात्रासमेत हुन सकेको छैन । जात्राको व्यवस्थापन गुठी संस्थान काठमाडौँ शाखाले गर्दै आएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार