Saturday, October 26, 2024

कोरोना फैलिएपछि स्थानिय तहहरुद्धारा लकडाउन र निषेधाज्ञा अवधि बढाइदै

काठमाडौ, साउन २६ (हाकाहाकी)– कोरोना संक्रमण फैलिएर मानविय क्षति हुन थालेपछि स्थानिय तहहरुले लकडाउन र निषेधज्ञा अवधि बढाइरहेका छन् ।

सिरहाको धनगढीमाई नगरपालिकाले कोरोना संक्रमणको जोखिम बढेको जनाउँदै एक साताका लागि नगरक्षेत्रमा लकडाउन जारी गरेको छ । छिमेकी गोलबजार नगरपालिकामा कोरोना संक्रमित युवकको मृत्यु भएको र लहान नगरपालिकामा पनि तीव्ररुपमा संक्रमित भेट्न थालेपछि धनगढीमाई नगरपालिकाले आजदेखि यही साउन ३२ गतेसम्म लकडाउन गरेको हो ।

लकडाउनको अवधिभर अत्यावश्यक सेवाबाहेक हाटबजार क्षेत्र पसल, होटल र निजी सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था बन्द रहने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईले बताउनुभयो ।
यसैबीच, कोरोना संक्रमण तीब्र बनेपछि सर्लाहीमा आज देखि एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ ।

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गठित जिल्ला स्तरीय समितिको हिजो बसेको बैठकले आज बिहान सात बजेदेखि ३२ साउनसम्म जिल्लाभर निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

अत्यावश्यक काम बाहेक सर्बसाधारणलाई घर बाहिर ननिस्कन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभएको छ ।

यसैबीच, आज राति १२ बजेदेखि लागू हुनेगरी हेटौंडा उपमहानगरपालिकाको सबै क्षेत्र र मनहरी गाउँपालिकाको महेन्द्र राजमार्ग आसपासका क्षेत्रमा निषेधाज्ञा लागू गरिएको प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिनुभएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार