Saturday, October 26, 2024

उपत्यका पूर्वको साँगा नाकाबाट भित्रिने यात्रुलाई रोक

काठमाडौ, साउन २६ (हाकाहाकी)– विभिन्न जिल्लाबाट साँगा नाका हुँदै उपत्यका प्रवेश गर्ने यात्रुलाई रोक लगाइएको छ ।

उपत्यकामा कोभिड–१९ को जोखिम बढ्दै गएपछि उपत्यका प्रवेश गर्ने नाकामा कडाइ गरिएको हो ।

महानगरीय प्रहरी वृत्त जगातीका प्रमुख एवं प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले विभिन्न जिल्लाबाट साँगा नाका हुँदै उपत्यका प्रवेश गर्नेहरुलाई रोक लगाइएको जानकारी दिनुभयो ।

साँगा हुँदै भक्तपुर प्रवेश गर्ने नाकामा समेत कडाइ गर्दै एम्बुलेन्स र दमकल लगायतका अत्यावश्यक सवारी साधनबाहेक अरुलाई रोक लगाईएको उहाँको भनाइ छ । विभिन्न जिल्लाबाट निजी र रिजर्भ गाडीमा आएका यात्रुलाई साँगाबाट फर्काउने गरेको र पैदल यात्रीलाई समेत रोक लगाइएको प्रहरी नायब उपरीक्षक जोशीले बताउनुभयो ।

उहाँका अनुसार साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म एम्बुलेन्स र दमकल बाहेकका सबै प्रकारका यातायातका साधनलाई प्रवेशमा रोक लगाइएको छ । ढुवानीका साधन भने राति १० बजेदेखि बिहान ४ बजेसम्म मात्रै सञ्चालन गर्न पाइने प्रहरी नायब उपरीक्षक जोशीले बताउनुभयो ।

ताजा समाचार

सम्बन्धित समाचार