Saturday, October 26, 2024

कोरोनाबाट थप २ को मृत्यु

काठमाडौ, साउन २६ (हाकाहाकी)– कोरोना संक्रमणवाट थप दुई जनाको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७८ पुगेको छ ।

मृत्यु हुनेमा काठमाण्डौंका एक पुरुष र पर्साकी एक महिला रहेकी छिन् । ललितपुरको मेडिसिटी अस्पतालमा उपचार गरिरहेका ६४ वर्षीय कोरोना संक्रमित पुरूषको मृत्यु भएको हो ।

कीर्तिपुर ट्याङ्लाफाँट निवासी उनको आज बिहान पौने ६ बजे मृत्यु भएको ललितपुर जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । उनलाई गएको साउन १५ गते भर्ना गरिएको थियो । पछि स्वाब परीक्षण गर्दा ती पुरूषमा कोरोना पुष्टि भएको हो।
मृतक पुरूषमा भाइरल निमोनिया र पुरानो मुधमेहको समस्या पनि रहेको थियो ।

यसैगरी,पर्सा वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु भएको छ ।

वीरगंज–१५ भेडियाहीकी ४५ वर्षीय महिलाको मृत्युपछि रिपोर्ट पोजेटिभ आएको हो ।

उच्च रक्तचाप र हाइपो थाइराइडकी विरामीको अचानक स्वास्थ्यमा गडबडी भएपछि महिलाको हिजो गण्डक कोभिड अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

श्वासप्रश्वासमा अचानक समस्या भएपछि मृतक महिलालाई अस्पताल ल्याइएको र कोरोना संक्रमण भए नभएको थाहा नहुँदै उनको ज्यान गुमेको गण्डक कोभिड अस्पतालका इन्चार्ज डाक्टर निरज सिंहले जानकारी दिनुभएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार