Saturday, October 26, 2024

बेरुत बिस्फोटमा १४१ फिट खाल्डो बन्यो

काठमाडौ, साउन २५ (हाकाहाकी)– लेबनानको राजधानी बेरुतस्थित बन्दरगाहमा भएको बिस्फोटका क्रममा एक सय ४१ फिट गहिरो खाडल बनेको अनुसन्धानकर्ताहरुले बताएका छन् ।

बन्दरगाहमा भण्डारण गरिएको एमोनियम नाइट्रेट नामको रसायन गएको मंगलबार बिस्फोट हुँदा १५० जनाभन्दा बढीको मृत्यु हुनुका साथै बन्दरगाह र त्यस वरपरका घरहरुमा व्यापक क्षति पुगेको थियो ।

अमेरिकी भूगर्भ इन्स्टिच्यूटलाई उदृत गर्दै एएफपी समाचार संस्थाले बिस्फोटबाट ३.३ म्याग्नीच्यूडको भूकम्प बराबरको धक्का महशुस गरिएको जनाएको छ । बिस्फोटका कारण कम्तीमा ६ हजार मानिस घाइते हुनुका साथै घर भत्केका कारण तीन लाखभन्दा बढी मानिस बिस्थापित भएका छन् । लेबनानको मुटुमा भएको यस बिस्फोटको जिम्मेवारी उच्च राजनीतिक नेतृत्वले लिनुपर्ने माग गर्दै सरकार विरोधी प्रदर्शनहरु हुन थालेका छन् ।

बन्दरगाहमा भण्डारण गरिएको रसायन जोखिमपूर्ण अवस्थामा रहेको भन्दै सरकारले बेवास्ता गर्दा ठूलो जनधनको क्षति भएको आम नागरिकको आक्रोश रहेको समाचारमा उल्लेख छ । फ्रान्सले घटनाको अनुसन्धान एवं उद्धारका लागि ठूलो समूह लेबनानमा परिचालन गरिसकेको छ । साथै कतार, रसिया र जर्मनीका उद्धारकर्मीहरु समेत बेरुतमा कृयाशील छन् ।

ताजा समाचार

सम्बन्धित समाचार